रामेछाप, असोज ५ । नेपालीहरूको महान् चाड बडादशैँको अवसरमा ऐतिहासिक खाँडादेवी शक्तिपीठमा परम्परानुसार आजै जमरा राखिएको छ ।
सर्वसाधारणले घटस्थापनाको दिन घरघरमा जमरा राख्ने परम्परा भए पनि देवीका लागि जमरा घटस्थापनाभन्दा अघिल्लो दिन अर्थात् जमारे औँसीकै दिन राख्ने चलन रहँदै आएको छ । सोही परम्पराअनुसार खाँडादेवी विकास कोषको आयोजनामा आज मन्दिर परिसरमा विशेष विधिपूर्वक जमरा राखिएको हो ।
जमरा राख्ने कार्यक्रममा विकास कोषका अध्यक्ष शेरबहादुर तामाङलगायत पदाधिकारीहरू, पुजारी तथा मन्दिरका गुठियारहरूको उपस्थितिमा पूजाआजा सम्पन्न गरिएको थियो । जमरा राखेसँगै मन्दिरमा दशैँ विशेष बलि तथा पञ्चवली खुलेको छ, जसका लागि भोलिदेखि भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।
ऐतिहासिक शक्तिपीठ मानिने खाँडादेवी मन्दिरको चर्चा देवीभागवत महापुराण र शिवपुराणको हिमवतखण्डमा समेत पाइन्छ । किरातकालदेखि नै यहाँ पूजाआजा हुँदै आएको विश्वास रहँदै आएको छ । पहरी समुदायले खाँडादेवीलाई आफ्नी चेली मानी विशेष श्रद्धासहित पूजा गर्ने प्रथा छ । फूलपातीकाे दिन गेलुका पहरीहरु चेली भेट्न विशेष काेसेली लिएर खाँडादेवी पुग्ने गर्दछन् ।
विसं १५७३ मा चढाइएको ठूलो घण्टा, दरबारबाट अर्पण गरिएका चाँदीका जन्तर र गहनाजस्ता धरोहरहरू आज पनि मन्दिरमा सुरक्षित छन् । जसले खाँडादेवी मन्दिरको ऐतिहासिक महत्वलाई प्रमाणित गर्दछ।

जनश्रुति अनुसार नेपाल एकीकरणको क्रममा राजा पृथ्वीनारायण शाहले सिन्धुलीगढीपछि खाँडादेवीलाई सहायक गढी बनाउनु भएकाे थियाे । उहाँले युद्ध जित्न देवीको आशीर्वाद प्राप्त गरेको जनविश्वास रहँदै आएको छ । युद्धपश्चात् खाँडादेवीको शिला दरबार लैजान गरिएको प्रयास तीन पटक असफल भएपछि शाहले खाँडादेवीसहित विभिन्न देवीदेवतामा बलि दिने परम्परा सुरु गरेको विश्वास गरिन्छ ।
उहाँकै आदेशअनुसार खाँडादेवीमा कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई हाँस र कुखुराको पोथी बलि दिने प्रचलन आजसम्म निरन्तर छ । पहिला यो पूजाको खर्च दरबारबाट आउने गरेको भए पनि हाल खाँडादेवी विकास कोषमार्फत सो कार्य सञ्चालन हुँदै आएको छ ।
कोषले हरेक वर्ष बडादशैँ र चैते दशैँको नवमीका दिन सरकारी पूजा गर्दै आएको छ । साथै मन्दिरको संरक्षण, पूजा तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण जिम्मेवारी पनि सोही कोषले वहन गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्