जनता टाइम्स

५ आश्विन २०८२, आईतवार १९:४८

भदौ २३–२४ को घटनाबारे छानबिन गर्न सरकारले गठन गर्याे उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग


काठमाडौं, असोज ५ । सरकारले गत भदौ २३ र २४ गते देशभर भएका घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ ।

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई तोकेको छ । आयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहने निर्णय भएको सरकारका प्रवक्ता तथा गृह मन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

गृह मन्त्री शर्माका अनुसार आयोगलाई घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेस गर्न तीन महिनाको समय दिइएको छ । आयोगले प्रत्यक्षदर्शी, पीडित, सुरक्षाकर्मी र सरोकारवालासँग बयान संकलन गर्ने, आवश्यक प्रमाण संकलन गर्ने तथा भविष्यमा यस्ता घटना नदोहोऱ्याउने उपायसमेत सिफारिस गर्ने जिम्मेवारी पाउनेछ ।

सरकारले भदौ २३ र २४ गतेका घटनाबारे विभिन्न ठाउँबाट आलोचना र प्रश्न उठेपछि छानबिन आयोग गठन गर्ने निर्णय गरेको हो । यस अगाडि नै आयाेग गठन गर्ने शैद्धान्तिक सहमति भएकाेले आयाेग बनाइएकाे उहाँले जानकारी दिनुभयाे ।

यसैगरी नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे सिआइबीकाे प्रमुखमा एआइजी डा. मनाेजकुमार केसीलाई सरुवा गर्ने निर्णय गरेकाे उहाँले जानकारी दिनुभयाे ।

मन्त्रिपरिषदको बैठकले राष्ट्रिय अनुसन्धान विभागको मुख्य अनुसन्धान निर्देशक (प्रमुख) मा टेकेन्द्र कार्कीलाई नियुक्त गरेको छ । विभागका प्रमुख हुतराज थापा भदौ २९ मा अवकाश भएपछि उक्त पद रिक्त थियो ।