जनता टाइम्स

७ आश्विन २०८२, मंगलवार ११:४३

प्रहरी वृत्त कालिमाटीमा आगजनी गरेको आरोपमा गोल्डेन खड्का पक्राउ


काठमाडौँ, ७ भदौ । जेनजी प्रदर्शनमा कालिमाटीस्थित प्रहरी वृत्तमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका वडा नम्बर–१३ घर भएका सचिन खड्का उर्फ गोल्डेन छन् ।

३८ वर्षीय खड्काले भदौ २४ मा भएको प्रदर्शनको क्रममा प्रहरी वृत्त कालिमाटीमा आगजनी गर्ने समूहको नेतृत्व गरेको आरोप छ । प्रदर्शनको समयमा आगजनी गरेपछि उनी थ्रिनट थ्री राइफल, खुँडा र खुकुरीसहित कालिमाटी प्रहरी वृत्त अघिल्तिर खुसी मनाइरहेको भिडियो सामाजिक सञ्जालमा भेटिन्छ ।

खड्का आफ्नो घर रहेको काठमाडौँ– १३ को वडा कार्यालय पनि आगजनी गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सोल्टिमोडस्थित वडा कार्यालय आगजनी गर्ने समूहको नेतृत्व पनि उनले नै गरेको आरोपमा प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।


उनीविरुद्ध आपराधिक उपद्रव गर्न नहुने कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताउनुभयो । आगजनी र लुटमा संलग्न आरोपीहरूलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरी वृत्त कमलपोखरीभन्दा बाहेकका मुद्दा चल्ने युनिटहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । आगजनीका कारण काठमाडौँ प्रहरीका युनिटहरूमा थुनुवा राख्ने र कार्यालय सञ्चालन गर्ने अवस्था छैन ।