काठमाडौं, असोज १० । गैरआवासीय नेपाली संघ ९एनआरएनए० का संस्थापक अध्यक्ष उपेन्द्र महतोले आन्दोलनकारी र लुटेराहरू छुट्याइदिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।
आफूलाई भेट्न पुगेका एनआरएन अभियन्ताहरुसँग कुरा गर्दै महतोले आन्दोलनको आडमा लुटपाट गर्नेहरूलाई ‘लुटेरा’ को संज्ञा दिँदै उनीहरूलाई तुरुन्तै पहिचान गरी कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले यसो गर्दा मात्रै भविष्यमा हुने आन्दोलनहरूलाई अनुशासित बनाउन मद्दत पुग्ने बताउनु भयो ।
उहाँले आफ्नो घरमा भएको आगजनीलाई एनआरएनमाथिको आक्रमणका रूपमा लिएको बताउँदै सो आक्रमण नेपालको राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रभाव राख्ने निकायहरूलाई लक्षित गरी गरिएको सुनियोजित योजनाको अंश भएको बताउनु भयो ।
महतोले एनआरएनका आन्तरिक विवाद र फुटले संस्था कमजोर भएको स्वीकार गर्दै सबै एनआरएनकर्मीलाई एकजुट हुन आह्वान पनि गर्नुभयो। उहाँले एनआरएन बलियो भए मात्र नेपालमा विदेशी लगानी भित्र्याउन सकिने र देशको समग्र विकासमा योगदान पुग्ने कुरामा जोड दिनुभयो। उहाँले भन्नुभयो, ‘एनआरएनले राजनीतिक दल र सरकारसँग सशक्त रूपमा आफ्ना कुरा राख्नुपर्छ ।’
महतोले सरकारले एनआरएनलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो। उहाँले नेपालको पुनर्निर्माणमा एनआरएनहरुको महत्त्वपूर्ण भूमिका रहनुपर्छ भन्दै गैरआवासीय नेपालीहरुलाई साझेदारको रुपमा हेर्न आग्रह गर्नुभयो । सो अवसरमा एनआरएनएका प्रतिनिधिहरुले तोडफोड र आगजनीप्रति आपत्ति जनाउनु भएको छ । ‘तपाईंको निवासमा गरिएको दुष्कृत्य केवल तपाईं र तपाईंको परिवारमाथि प्रत्यक्ष आक्रमण मात्र थिएन, यो देशभित्र र विदेशमा रहेका प्रत्येक नेपालीको सम्मान, सुरक्षा र आशामाथि गरिएको हमला पनि हो’ भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्