जनता टाइम्स

११ आश्विन २०८२, शनिबार १३:४४

देशमा आगो लगाउनेहरूको झोले बन्न सकिएन, जेनजी आन्दोलन ध्वंसकारीहरूले हाइज्याक गरे : क्षितिज थेबे 


काठमाडौं, असोज ११ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले सिंहदरबार लगायत राष्ट्रिय गौरवका केन्द्र जलाउने काम कुनै पनि नेपालीले गर्न नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपालले शनिबार भक्तपुरको गुण्डुमा आयोजना गरेको बडादशैँको खुल्ला भेटघाट कार्यक्रममा बोल्दै थेबेले जेनजी आन्दोलनमा विध्वंसकारीले जितेको र समृद्ध नेपालको अभियानले हारेको बताउनुभयो । कार्यक्रममा बोल्दै थेबेले विज्ञताको नाममा केपी ओली बालाई प्रधानमन्त्रीबाट हटाएर सुशीला कार्की हजुरआमालाई प्रधानमन्त्री बनाएको बताउनुभयो ।

एमालेसँग पाका युवा र विज्ञ सबै भएको बताउनुभयो । नेकपा एमाले समपूर्ण रूपमा योग्य रहेको उहाँले दाबी गर्नुभयो । जेनजी आन्दोलनको मागलाई पुरा गर्ने एक मात्र पार्टी नेकपा एमाले भएको थेबेले दाबी गर्नुभयो । जेनजी युवाको माग अहिलेको सरकारले पुरा गर्न नसक्ने उहाँले बताउनुभयो ।

नेकपा एमालेले विगतमा भएको कमजोरीलाई सुधार गरेर अघि बढी एमालेले जेनजी आन्दोलनका माग सम्बोधन गर्ने थेबेले दाबी गर्नुभयो । नेपालको विकास र समृद्धिका काम नेकपा एमालेले गरेको बताउँदै उहाँले चुच्चे नक्सा जारी गर्नेदेखि नकाबन्दिसँग लड्ने काम एमालेले गरेको उहाँले स्पष्ट पार्नुभयो । यसलाई गल्ती गरेको मान्ने हो भने एमाले यस्ता गल्ती बारम्बार गर्न तयार रहेको उहाँको भनाई छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र विकासको काम गर्ने पार्टीको झोले बन्ने तयार रहेको बताउँदै उहाँले नेपालको सिर, नेपालको स्वाभिमान सिंहदरबार जलाउनेको झोले बन्न नसकिने थेबेले स्पष्ट पार्नुभयो । ‘ राष्ट्रको सिर हाम्रो धरोहर सिंहदरबार जलाउने विदेशी दलालको झोले बन्न सकिनँ कृपया माफ गरिदिनुस्, अख्तियारको फाइल जलाउने, सर्वोच्च अदालतको फाइल जलाउनेको झोले बन्न सकिनँ, मलाई सेवा दिने वडा कार्यालय जलाउन सकिनँ, सुरक्षा दिने प्रहरीलाई मार्न सकिनँ, त्यही कारणले म राष्ट्रियताको निम्ति झोले हो, म देशमा आगो लगाउनेहरूको झोले बन्न सकिन, देश खरानी बनाउनेहरूको झोल बन्न नसक्दा म अपराधी बन्छु भने अपराधी नै सही’, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलन ध्वंसकारीहरूले हाइज्याक गरेका उहाँले बताउनुभयो । पूर्वतयारी अनुसार नेपालका धरोहर जलाउने काम जेनजी आन्दोलनमा भएको उहाँको दाबी छ । ‘नेपाली हो भने राष्ट्र जलाउन सक्दैन, नेपालीहरूले देश जलाउन सक्दैन’, उहाँले भन्नुभयो ।

वर्तमान प्रधानमन्त्री सुशीला कार्की पनि विदेशीको योजना अनुसार नै प्रधानमन्त्री बन्नुभएको उहाँको भनाइ छ । यो विदेशी हस्तक्षेप र प्लान्टेडका प्रमुख पात्र बालेन भएका उहाँले बताउनुभयो । यो आन्दोलनमा माओवादी, साजवादी र रास्वपालाई प्रयोग गरिएको उहाँको धारणा छ । ‘यो सेटअप हो, यो प्लानटेड हो’, उहाँले भन्नुभयो ।