जनता टाइम्स

१३ आश्विन २०८२, सोमबार १४:२९

माओवादीले  संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्याे : प्रचण्ड 


काठमाडौं, असाेज १३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  जेन–जी पुस्ताले अघि सारेका मागलाई समर्थन गर्दै माओवादी केन्द्रले संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताउनु भएकाे छ ।

विजया दशमीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा सहित आगामी मंसिरमा विशेष महाधिवेशनमार्फत जेन–जी सहित युवाहरूको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गर्ने निर्णय गरे बमोजिम गृह कार्य भइरहेको जानकारी दिनुभयाे । वर्तमान जटिलतालाई चिरेर सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका पक्षमा दशैंजस्ता सांस्कृतिक अन्तर्घुलनका पर्वहरूले प्रेरणा दिने उहाँकाे विश्वास छ । उहाँले उहाँले भन्नुभएको छ, ‘हाम्रो पार्टीले जेन–जीका मागलाई समर्थन गर्दै पछिल्लो राजनीतिक अवस्थाले सिर्जना गरेको मनोविज्ञानलाई आत्मसात् गर्दै संगठनात्मक शुद्धिकरण, सांस्कृतिक रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको छ । ’

अध्यक्ष प्रचण्डले  सशस्त्र द्वन्द्वदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरिएको जिम्मेवारीलाई स्मरण गर्दै वर्तमान राजनीतिक तरलतालाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन पार्टी प्रतिबद्ध रहेको बताउनुभयाे । उहाँले भन्नुभयो, ‘यतिखेर हामी नेपाली जनताका महान् संघर्ष र आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै अधुरा रहेका अग्रगामी रूपान्तरणका मुद्दाहरूलाई गम्भीर आत्मसमीक्षा सहित सम्बोधन गर्नैपर्ने जटिल राजनीतिक परिस्थितिमा छौँ, हामीले उठाएका प्रत्यक्ष निर्वाचित कार्यकारी लगायतका संविधान निर्माणका क्रममा सम्बोधन हुन नसकेका मुद्दा अहिले फेरि मुखरित भएका छन्, यस परिस्थितिमा महान् जनयुद्धदेखि संविधान निर्माण र कार्यान्वयनसम्म निर्वाह गरिएको जिम्मेवारीलाई निरन्तरता दिँदै वर्तमान तरल परिस्थितिलाई अग्रगामी रूपान्तरणतर्फ अघि बढाउन नेकपा माओवादी केन्द्र प्रतिबद्ध रहेको छ ।’

उहाँले सबै नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र शोकलाई शक्तिमा बदल्ने प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । दशैं लगायतका पर्वहरूलाई सामाजिक एकता र अग्रगमनका पक्षमा सङ्कल्पसहित मनाउन पनि उहाँले आह्वान गर्नुभएको छ ।