-नवराज पथिक-
काठमाडौं, असोज १४ । भदौ २३ र २४ गते काठमाडौंमा जेनजी आन्दोलनको नाममा हिंसा भड्की रहेको थियो ।
देशको प्रमुख प्रशासकीय भवन सिंह दरबार जल्दै थियो, न्यायको मन्दिर सर्वोच्च अदालत ध्वस्त हुँदै थियो । देशको कानुन बनाउने सर्वोच्च निकाय प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक हुने ठाउँ नयाँ वानेश्वरको अन्तराष्ट्रिय सम्मेलन केन्द्र खरानी भइसकेको थियो । यतिसम्मकी नेपाली सेनाका परमाधिपति राष्ट्रपतिको कार्यालय समेत जोगाउ नसक्ने हालतमा नेपाली सेना पुगेको थियो ।
प्रहरी कार्यालय, सरकारी कार्यालयहरू, व्यक्तिका घर, व्यावसायिक भवनहरू जल्दै थिए, फोरिँदै थिए, लुटिँदै थिए । सिङ्गो देश खरानी बन्दै थियो ।
२३ गते बिहान माइतीघरबाट सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाइनु पर्ने र सुशासन कायम गर्नुपर्ने माग राख्दै सुरु भएको युवा पुस्ता (जेनजी) को आन्दोलन शान्तिपूर्ण थियो । उनीहरूको माग देश र समाजको पक्षमा थिए । उनीहरूको एजेण्डा समृद्धिसँग जोडिएका थिए । उनीहरूले आन्दोलन सुरु गर्नु अघि सुनाएका आन्दोलनका आचारसंहिता शान्तिपूर्ण थिए ।
जब जुलुस माइतीघरबाट नयाँबानेश्वर पुग्यो । तब आन्दोलन जेनजी पुस्ताको हातबाट बाहिर गयो । आपराधिक समूहले सुनियोजित रूपमा विद्यार्थीहरूलाई ट्र्यापमा पारेले विद्यालय पोसाक सहित आन्दोलनमा होम्यो र संसद् भवन अगाडि वितण्डा मच्चायो । संसद् भवनमा आगो लगायो । विद्यार्थीको आडमा आपराधिक समूहले लुटपाट मच्चायो । गोली चल्यो । किशोर र युवाहरूको ज्यान गयो ।
लुटपाट र तोडफोडमा संलग्नलाई होइन, विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई छाती र टाउकामा गोली लाग्यो । निर्दोष युवा र किशोरको ज्यान गयो ।
आन्दोलनका आह्वानकर्ताले आन्दोलनमा गलत तत्त्व घुसेका भन्दै आन्दोलनकारीलाई घर फर्कन आह्वान गर्यो । तर आन्दोलन उनीहरूको नियन्त्रणमा थिए ।
भदौ २४ गते बिहानैदेखि आपराधिक समूहले प्रमुख प्रशासनिक भवन सिंहदरबारदेखि सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, राष्ट्रपति भवन, मन्त्रीहरूका सरकारी निवास, प्रहरी कार्यालयहरू, व्यावसायिक भवनहरू तथा व्यक्तिका घरहरू समेत खरानी बनाए ।
आन्दोलनलाई भड्काउन र उत्तेजित बनाउने केही व्यक्तिहरू संगठित रूपमा लागि रहेका थिए । भौतिक रूपमा र सामाजिक सञ्जाल मार्फत स्थितिलाई नियन्त्रण गर्न होइन, आन्दोलनमा रहेकालाई सम्झाउन होइन, भड्काउने काममा उनीहरू निरन्तर लागि रहेका थिए ।
आन्दोलन भड्काउने व्यक्तिको लाइनमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) प्रमुख हुनुन्थ्यो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, पूर्वन्यायाधीश गौरीबहादुर कार्की, रास्वपाकी नेतृ डा. तोसिमा कार्की लगायत अग्र पंतिमा हुनुहुन्थ्यो । कार्की त्रय मध्ये सुशीला र तोसिमा सडकमा नै आन्दोलन भड्काउन तैनाथ हुनुन्थ्यो भने गौरीबहादुर सामाजिक सञ्जाल मार्फत भड्काउने र निर्देश गर्ने काममा खटिनु भएको थियो ।
सडकमा नै आन्दोलनलाई उत्तेजित पार्न निस्कनु भएकी सुशीलाले उपहारस्वरूप अन्तरिम सरकारको प्रधानमन्त्री पद पाउनु भएको छ । अर्का कार्की गौरीबहादुर जेनजी आन्दोलनमा भएको घटनाको जाँचबुझ आयोगको संयोजक हुनु भएको छ । डाक्टरको एप्रोन लगाएर हिंसा भड्काउन निस्कनु भएकी तोसिमा भने अहिले बदनाम भएको आफ्नै पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई सम्याउन लाग्नु भएको छ ।
लोकतान्त्रिक मुलुककी प्रधानमन्त्री सुशीला यति बेला राजनीतिक दलहरूलाई बाइपास गरेर फागुन महिनामा चुनाव गर्ने भन्दै हिँड्नु भएको छ । प्रधानमन्त्री भएपछि समेत उहाँको अभिव्यक्ति अराजक र हिंसात्मक छ । प्रधानमन्त्री भए लगत्तै अस्पतालमा बिरामी भेट्न पुग्नु भएकी कार्कीले मान्छे त बलियो रहेछ, बंगारासँगार खुस्काइ दिनु पर्थ्यो नि भनेर बिरामीसँग भन्नुले उहाँको असलियत सार्वजनिक भइसकेको छ ।
निष्पक्ष जाँचबुझ आयोगका अध्यक्ष बन्नु भएका अर्का कार्कीको आन्दोलनका बेलामा सामाजिक सञ्जालमा लेखिएका स्ट्याटस, अन्तरिम सरकार बने पछिका अभिव्यक्ति र जाँचबुझ आयोगको संयोजक बने पछिको गतिविधिले उहाँको आयोगले ल्याउने प्रतिवेदन एकपक्षीय हुन्छ भन्ने कुरामा कुनै विवाद छैन । आयोगको तर्फबाट कार्कीले भदौ २३ र २४ को आगजनी, तोडफोड, लुटपाट र आपराधिक घटनामा संलग्न कसैलाई पनि अनुसन्धान र कारबाही अघि नबढाउनु भनि फर्मान जारी गर्नुले उहाँको असलियत प्रष्ट हुन्छ ।
भदौ २२ गते आन्दोलनको अघिल्लो दिन कार्कीले फेसबुकमा लेख्नु भएको छ–‘जेनजी अभियानलाई हृदयदेखि समर्थन छ ।’
भदौ २३ गते उहाँले अर्को स्ट्याटस लेख्नु भएको छ । जसमा लेखिएको छ–‘जथाभाबी जनतालाई गोली हान्नु पहिले सेना प्रहरी मुख्यालयले सोचोस् ।’
तिनै कार्कीले सोही दिन एउटै समयमा अर्को स्ट्याटस लेख्नु भएको छ । ‘जेनजी धेरै अगाडि बढी सकेको छ’, उहाँले सो साँझ ६ः५५ बजे लेख्नु भएको छ । सोही समयमा फेरी उहाँले मेरो पूर्ण समर्थन छ भन्दै जेनजी आन्दोलनको पोस्टर सार्वजनिक गर्नुभएको छ ।
भदौ २४ गते फेसबुकमा नै उहाँको अर्को स्ट्याटस छ । जसमा लेखिएको छ–कसैलाई पनि भाग्न दिनु हुँदैन, केपी ओली हेलिकप्टरबाट भागे भन्ने हल्ला चलेको छ, पूर्व प्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड लगायत अन्य पूर्व मन्त्री सांसद एवं पदाधिकारीहरू कसैलाई पनि विदेश जान र भाग्न दिनु हुँदैन, उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिनु पर्दछ, विमानस्थल बन्द गरिनु पर्दछ, निजी हेलिकप्टर चलाउन दिनु हुँदैन, भारतीय र चिनिया सिमाना बन्द गरिनु पर्दछ, कसैलाई पनि भाग्न नदिई थुनामा राखिनु पर्दछ, यी राष्ट्रघाती अपराधीहरू कसैलाई पनि मार्नु पनि हुँदैन, भ्रष्टाचार अकुत सम्पत्ति तथा कानुन उल्लङ्घनमा कारबाही गरिनु पर्दछ ।’
भदौ २४ मै उहाँले फेसबुकमा अर्को स्ट्याटस लेख्दै उद्वेलित गर्ने काम गर्नुभएको छ । कार्कीले लेख्नु भएको छ–‘ मिलेर ५२ भाइको संवैधानिक नियुक्ति सदर गराउने ती श्रीमानहरू के भन्लान् अब जेनजीसँग ?’
संविधानको पालना र विधिको शासन कायम गर्न सभामुख र राष्ट्रिय सभा अध्यक्षले जारी गर्नुभएको विज्ञप्तिलाई समेत खिसीमा उडाउँदै उहाँले वर्तमान संविधानकै अपमान गर्ने अभिव्यक्ति दिनुभएको छ । उहाँले दुई जनाको फोटो र विज्ञप्ति राख्दै लेख्नु भएको छ– ‘ओहदा जाला भन्ने डर हो ?’
त्यति मात्र होइन वर्तमान अन्तरिम सरकार र त्यसका मन्त्रीहरूको पक्षमा उहाँ सामाजिक सञ्जालमा नै खुलेर प्रस्तुत हुनुभएको छ । ‘रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्यालको छनोट विवादरहित छ, अब क्विन्टलका माला र प्रशंसापत्र र उपहार दिनु र लिनु भएन, उद्घाटन र सम्मान कार्यक्रममा वर्जित गर्नु पर्छ’, उहाँले अदालतको फैसलाको शैलीमा फेसबुकमा लेख्नु भएको छ ।
असोज १ गते कान्तिपुर टेलिभिजनको जलेको भवन र सवारी साधनको फोटा सार्वजनिक गर्दै कान्तिपुर टेलिभिजन स्टेसनको हालत हेरियो भन्दै उहाँले खुसी प्रकट गर्न भ्याउनु भएको छ । उहाँले वर्तमान अन्तरिम सरकारले के गर्नुपर्छ भन्ने बारे सार्वजनिक रूपमा निर्देशन दिन समेत भ्याइ सक्नु भएको छ ।
आन्दोलन अघि, आन्दोलनका समयमा र आन्दोलन पछि उहाँको गतिविधि र आयोगको संयोजक भए पछिका गतिविधिले कार्कीबाट निष्पक्ष छानिबिन हुन्छ भन्ने आशा गर्ने ठाउँ नै देखिँदैन । उहाँले निष्पक्ष भएर काम नै गरे पनि उहाँका गतिविधिका कारण सो प्रतिवेदन सर्वस्वीकार्य हुने स्थिति देखिँदैन । किनकि उहाँले स्पष्ट रूपमा एउटा पक्षको पक्षधर भइसक्नु भएको छ । त्यसैले उहाँले राजीनामा दिएर नैतिकता देखाउँदै अर्को निष्पक्ष आयोग बनाउन सिफारिस गर्नु नैतिकवान् देखिन्छ ।
युवा आन्दोलनलाई उपयोग गर्ने, विद्यार्थी र युवाहरूलाई अगाडि राखेर पुरानै पुस्ता सत्ता र शक्तिमा पुग्ने प्रयास गर्ने प्रवृत्तिले देशलाई अगाडि बढाउने होइन अझ बढी क्षति गराउँछ । त्यसैले जेनजी आन्दोलनमा भएको के थियो ? त्यसको सत्य तथ्य खोजी गरी दोषीलाई कानुनी रूपमा कारबाहीमा ल्याउने र पीडितलाई न्याय दिलाउने कामलाई प्राथमिकता दिनु पर्दछ र त्यो साँच्चिकै निष्पक्ष आयोग मार्फत हुनुपर्दछ ।













प्रतिक्रिया दिनुहोस्