जनता टाइम्स

१४ आश्विन २०८२, मंगलवार १७:३९

ओलीको राहदानी रोक्का प्रतिशोधपूर्ण निर्णय : राष्ट्रिय युवा संघ नेपाल


काठमाडौं, असोज १४ । राष्ट्रिय युवा संघ नेपालले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

संगठनले मंगलबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिन आयोगले प्रारम्भिक चरणमै पूर्वाग्रहसहित यस्तो निर्णय गर्नु आपत्तिजनक भएको उल्लेख छ।  संगठनका अध्यक्ष क्षितिज थेबेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो सम्पूर्ण जीवन राष्ट्र र जनताका निम्ति समर्पण गर्नुभएका, सम्पत्ति समेत राज्यलाई सुम्पिसक्नुभएका र जस्तोसुकै परिस्थितिमा पनि मुलुक छोडेर नजाने घोषणा गर्नुभएका पूर्वप्रधानमन्त्रीजस्तो व्यक्तित्वलाई राहदानी रोक्का गर्नु प्रतिशोध साध्ने अराजनीतिक कार्य हो।’

संघले सरकार आफ्ना पूर्व इन्चार्ज तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउन लागेको समाचारप्रति चिन्ता प्रकट गर्दै यस्तो कदम सरकारका लागि प्रत्युत्पादक हुने चेतावनी दिएको छ।

संगठनले गृह मन्त्रालयले भदौ २४ गतेको हिंसात्मक गतिविधिमा संलग्न हुनेलाई कानुनी कारबाही नगर्ने भनेर गरेको निर्णयलाई पनि  दण्डहीनतालाई प्रश्रय दिने तथा कानुनी राज्यको उपहास गर्ने भन्दै तुरुन्त सच्याउन माग गरेको छ।

राष्ट्रिय युवा संघ नेपालले जेनजी आन्दोलनमार्फत आएका मागहरूप्रति आफू सचेत रहेको र सम्बोधनका लागि प्रारम्भदेखि नै अग्रसर रहेको स्पष्ट पार्दै वर्तमान सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधिसभाको शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त आमचुनाव गराउनमा केन्द्रित हुन आग्रह गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्नो मूल जिम्मेवारी आमचुनावमार्फत मुलुकलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउने हो, अनावश्यक रूपमा राजनीतिक प्रतिशोधको गलत बाटोमा लाग्नु हुँदैन।’