काठमाडौं, असाेज १६ । नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापाले भदौ २३ र २४ गतेका घटनाबारे टिप्पणी गर्दै त्यसलाई ‘नाटकीय’ तथा ‘लालचिपूर्ण राजनीतिक अभियान’को परिणामका रूपमा व्याख्या गर्नुभएको छ।
थापाका अनुसार तत्कालीन घटनाक्रममा सुशीला कार्की, काठमाडौं महानगरका प्रमुख बालेन साह, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायत नौ जनालाई प्रधानमन्त्री बन्ने प्रलोभन देखाइएको थियो। ‘सबै नेताहरू मनमनै मलाई प्रधानमन्त्री बनाइन्छ भन्ने भ्रममा रमाइरहेका थिए,’ थापाले टिप्पणी गर्दै लेख्नु भएको छ, ‘राजावादी शक्तिहरू पनि राजतन्त्र फर्किने दिवास्वप्नमा देशलाई खरानी बनाउन उद्यत थिए।’
थापाले नेपाली कांग्रेसभित्रै गगन थापा र डा. शेखर कोइरालाबिच अविश्वासको स्थिति देखिएको बताउनुभएको छ । ‘अहिले त गगनलाई शेखरले रोके भन्ने पिरलो छ, शेखरलाई अमेरिका पो हाबी भयो भन्ने पिर लागेको छ’, थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
प्रचण्डले नख्खु जेलमा गएर रवि लामिछानेलाई भेट्दा गोहीको आँसु झारेको र एमालेका कार्यालय र घर जलाउने योजना त्यहीँ बनेको थापाले दाबी गर्नुभयो। ‘प्रचण्डले नख्खु जेल पुगेरै रविलाई भेट्दा दुब्लाउनुभएछ बिचरा भन्दै गोहीका आँसु झारेको यसै थिएन, बरु छानी छानी एमालेका पार्टी कार्यालय र नेतृत्वका घर आगजनी गर्ने अघोषित कार्यगत एकताको सुलह त्यहीँ भएको थियो’, उहाँको दाबी छ ।
थापाले बालेन साहलाई प्रधानमन्त्री प्रस्ताव गरिएको चर्चा समेत भ्रममा पार्ने धोकाधडी मात्रै भएको बताउनुभयो। ‘बालेनलाई प्रधानमन्त्री प्रस्ताव गरेको हल्ला ‘नभएको भनिएको धोकाधडी’मा उत्तेजित नबनोस् भनेर मात्रै थियो’, उहाँको धारणा छ ।
गैर जेनजी समूहले आन्दोलनलाई लुटमारमा परिणत गरेको उहाँको भनाइ छ। ‘गैरजेनजीले आन्दोलनलाई लुटमार गरेकै छ, देश खरानी पार्ने शिखण्डी त्यही लालची पदलोलुपताकै परिणामस्वरूप बनेको हो, यसरी सबलाई यस खालको राज्य वितण्डा र विप्लवको प्लटिङ जानकारी रहेको र सामेल गराइएको थियो भन्ने जानिफकारहरू आज सर्वत्र मौजुदा रहेका छन्’, उहाँको भनाइ थियो।
थापाले प्रचण्डलाई २० महिना प्रधानमन्त्री भएर पनि भोक मेट्न नसकेको आरोप लगाउँदै डा. शेखर कोइराला देउवासँग बदला लिने अभियानमा लागेका तथा गगन थापाले सरकार सञ्चालन संयन्त्रलाई बहिष्कार गरेर विद्रोही भूमिका खेलेको र रवि लामिछानेले १५ हजार कैदी जेलमुक्त गर्ने अपराध गरेर समाजलाई ‘अपराधिकरणतर्फ धकेलेको दाबी गर्नुभयो। थापाले सुशीला कार्कीलाई समेत घटनामा प्रयोग गरिएको आरोप लगाउँदै घाइते भेट्न अस्पताल लैजाने योजना त्यही गुटको षड्यन्त्र भएको टिप्पणी गर्नुभएको छ । ‘ ७० काटेका व्यक्तिहरूलाई जेनजी बनाउने नेपथ्यको निर्देशक पनि त्यही नै थियो’, थापाले लख्नु भएको छ ।
थापाले सुदन गुरुङलाई पानी वितरणमा प्रयोग गर्ने, शीतल निवासमा वार्ता पुर्याउने र दलाई लामाको बधाई सन्देश सुशीलासम्म पुर्याउनेसम्मका गतिविधि एउटै शक्तिद्वारा नियोजित रहेको दाबी गर्नुभयो। ‘केपी शर्मा ओलीमाथि हमला गर्ने सबको एउटै साझा र प्रमुख निशाना थियो, शेरबहादुर देउवा माथिको कुटपिट र दुर्व्यवहारचाहिँ बडो ओलीको साथ नछाड्ने भनेर गरिएको सहायक प्रपञ्च मात्र थियो, घटनापछि पार्टीको वक्तव्यमा देउवाको स्वास्थ्यलाभको कामनासम्म नगरी जारी गर्ने पदाधिकारीहरूले त्यसमा आफ्नो हविगत स्पष्ट गरिसकेकै छन्, जेजीलाई त फगत मोहरा र बहाना मात्र बनाइएको थियो भन्ने मिराज ढुंगानाले भोगिरहेका छन्’, थापाको भनाइ छ ।
भदाै २३-२४ काे घटना एउटा नाटक मात्र भएको उहाँको विश्लेषण छ । ‘खासमा यो ड्रामा एक थियो र पात्र अनेक परिचालित थिए भन्ने अनेक तथ्य र स्रोतहरू उपलब्ध छन्, आफ्नो तुच्छ पदलोलुपता तृप्तिको लागि देशमा आगोको कारोबार गरेर खरानीको छारो उडाउन तयार धेरैको अभिनय र अभियन्ता-कर्म अब उदाङ्गो भइसकेको छ, केही कुरा गोप्य र लुकेको पनि छैन’, थापाको टिप्पणी छ ।













प्रतिक्रिया दिनुहोस्