जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार ०९:०४

विश्वको शान्त देशमा नेपालको छलाङ, ठुला देशपनि परे पछि


काठमाडौं, मंसिर ६

नेपालले विश्वका शान्त देशहरुको सूचिमा छलाङ मारेको छ । नेपालले शान्तिपूर्ण देशहरुको सूचिमा १२ स्थानको सुधार गरेको हो । ‘इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पीस’ (आईईपी) १६३ देशको वार्षिक प्रतिवेदन अनुसार नेपाल १२ स्थान सुधार गर्दै ७६ ‍औं स्थानमा छ ।

आईईपीको यो १३ औँ ग्लोबल पीस इन्डेक्स रिपोर्ट हो । जसमा उसले १६३ देशमा जारी घरेलु र अन्तर्राष्ट्रिय लडाईँ, समाजिक सुरक्षाको अवस्था, आतङ्कवाद् , सैनिकीकरणको स्तरलगायतका विभिन्न २३ वटा आधारमा मूल्याङ्कन गरि सूचित गरेको छ ।

२०१९ को रिपोर्टमा अनुसार ८६ देशहरुमा सुधार आएको छ भने ७६ राष्ट्रहरुको शान्ति अवस्था खस्कँदै गएको देखाएको छ । विश्व शान्तिको सूचीमा आइसल्यान्ड पहिलो स्थान कायमै छ भने अफगानिस्तान अन्तिम स्थानमा छ । उसको प्रतिवेदन अनुसार आइसल्यान्डमा प्रति एकलाख मानिसमा वार्षिक १८ हत्या मात्र हुने गरेको छ । दोस्रोमा न्यूजील्यान्ड रहेको छ भने पोर्चुगल, अष्ट्रिया, डेनमार्क, क्यानडा, सिंगापूर, स्लोभेनिया, जापान र चेक रिपब्लिक क्रमशः शीर्ष दशमा छन् ।

स्वीट्जरल्यान्ड ११ मा छ भने एसियाबाट भूटान १५ र मलेशिया १६, ताइवान ३६ मा, इन्डोनेशिया ४१ मा अनि दक्षिण कोरिया ५५ मा र श्रीलंका ७२ स्थानमा रहेका छन् । यो पटकको सूचीमा दक्षिण एसियाली क्षेत्रमा भने ठूलो सुधार देखिएको छ जसका लागि नेपाल, पाकिस्तान र भूटानलाई श्रेय दिइएको हो ।

दुईस्थान माथि आउँदै १५ औँ मा पुगेको भूटानले शान्तिका चार संकेतकमा राम्रो अंक प्राप्त गरेको छ । पुलिसदर र अतिक्रमण दरमा मात्र यसको स्कोर दुईभन्दा कम रहेको छ । दक्षिण एसियामा अन्य क्षेत्रको तुलनामा आपराधिक समस्या कम छ र राजनीतिक रुपमा मात्र अशान्त छ । दक्षिण एसियामा भूटान र श्रीलंका पछि नेपाल तेस्रो सबैभन्दा शान्तिपूर्ण देश हो । नेपाल शान्तिको मध्यम स्तरमा रहेको छ ।

भारतलाई भने अशान्तपूर्ण वर्गमा राखिएको छ जुन यो वर्ष चार स्थान तल १४१ मा पुगेको हो । त्यस्तै पाकिस्तान पनि २ स्थान तल १५३ मा रहेको छ । चीन पनि नेपालभन्दा तल ११० औँ स्थानमा मध्य शान्तिपूर्ण क्षेत्रमा परेको छ । अमेरिका पनि अशान्त देशको सूचीमा छ । अमेरिका चार स्थान तल झर्दै १२८ स्थानमा पुगेको छ ।