पोखरा, कात्तिक ६ । पोखरा २१ निर्मल पोखरीबासी कांग्रेस समर्थकहरुले आफ्नै पार्टीको बिकाशबिरोधी कामबाट आजित भएकाले यस पटकको भोट नेकपाकी उम्मेद्वार बिद्या भट्टराई अधिकारीलाई दिएर बिजयी बनाउने अठोट गरेका छन । कास्की २ को उपचुनावको सन्दर्भमा घरदैलोमै मत माग्न आइपुग्नुभएकी नेकपाकी उम्मेद्वार विद्या भट्टराईलाई लामो समयदेखि नेपाली कांग्रेसलाई मतदान गर्दै आएका स्थानीय समर्थकहरुले नेकपालाई भोट दिने बताउनु भएको हो ।
‘हामीहरु कांग्रेस समर्थक नै हौं, तर कांग्रेसबाट आजित भएकाले यसपटकको भोट नेकपालाई दिन्छौं, तपाईले यो क्षेत्रबाट चुनाव जितेर बिकाशको नेतृत्व गर्नुपर्छ,’ बिद्यासँग स्थानीय मतदाताले भने । निर्मलपोखरीको दम्सादीमा आइपुग्नुभएकी बिद्यालाई मतदाताले जिताउने अठोटसहित माला लगाएर स्वागत गरेका थिए । ‘हामी जन्मदै कांग्रेस भएर जन्मियौं, तर कांग्रेसले पटकपटक सरकार चलाए पनि जनताको लागि केही गरेन, बरु देश झनझन कमजोर र दरिद्र बनाए, अबको भोट नेकपालाई दिन्छौं,’ मतदाताले भने । तर उनीहरुले विद्यालाई आफूले गरेका विकासका बाचा भने पूरा गर्न आग्रह गरे ।
निर्मलपोखरीको दम्सादीबाट ८७ वर्षिया जसोदा आचार्य र ९२ वर्षिय खेमराज आचार्यबाट शुभ आशिर्वाद लिँदै घरदैलो शुरु गर्नुभएकी बिद्याले फेदीपाटन, अम्बोटहुँदै द्वारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा बोल्दै नेकपा उम्मेद्वार विद्या भट्टराई अधिकारीले समृद्ध नेपाल राष्ट्रिय संकल्प भएको र त्यसको नेतृत्व नेकपाले गरेकाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने महाअभियान सफल पारेरै छाड्ने दृढता व्यक्त गर्नुभयो । उहाँले पोखराको विकास र समृद्धीको खाका आफूसँग भएको बताउँदै उक्त योजना पूरा गर्नका लागि आफूलाई भोट दिन आग्रह गर्नुभयो ।
उहाँले पाँच वर्षका लागि पाएको म्याण्डेट दुर्घटनावस फेरी अनुमोदनका लागि पोखरेली जनतामाझ आएको बताउनु भयो । विकासमा देखिएका कतिपय बाधा अवरोधहरु हटाउनका निम्ति प्रतिवद्ध भएर लाग्ने बताउँदै उहाँले अबको ३ वर्ष सफल बाँकी योजना सफल बनाएरै छाड्ने घोषणा गर्नुभयो । पोखरा २१ का नेकपाका चुनावी कमाण्डर दीपक पौडेल, झपट रानाभाट, नेकपा २१ का अध्यक्ष कृष्ण थापा, प्रकाश पौडेललगायतले नेकपा सरकारले गरेका कार्यहरुको चर्चा गर्दै भावी दिनमा गर्ने योजनाबारे पनि प्रकाश पार्नुभयो ।
यसैबीच, निर्वाचन क्षेत्रका सबै वडामा आज नेकपाले र्याली निकाल्दैछ । महिला निर्वाचन परिचालन कमिटीको समन्वयमा निर्वाचन हुने पोखराका सबै वडामा र्याली निकालिन लागेको हो । वडा नम्बर ४ मा आज विहान घरदैलोसमेत गरिएको र बेलुकापनि घरदैलो जारी रहने नेकपा वडा नम्बर ७ का सचिव लोकनाथ भण्डारीले जानकारी दिनुभयो । पोखरा ८ मा पनि विहानै महिलाहरुले विद्याको पक्षमा र्याली निकालेका छन् । सृजना चोकबाट शुरु भएको र्याली जाल्पारोड, बगालेटाल, चिप्लेढुंगा, न्यूरोडहुँदै पोखरा सभागृहमामा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै अखिल नेपाल महिला संघकी निवर्तमान अध्यक्ष गोमा देवकोटाले पार्टी भन्दा माथि उठेर महिला नेतृ विद्या भट्टराई अधिकारीलाई जिताउन अपिल गर्नुभयो । ‘मौका आउँदा नजिताउने हो भने भोलि पछुताउनु पर्छ, त्यसैले महिलाहरु सचेत र एकजुट भएर विद्यालाई जिताउन लाग्नुपर्छ,’ उहाँले भन्नुभयो । कार्यक्रममा महिला नेतृहरु रत्ना गुरुङ, वडा नम्बर ८ की महिला परिचालन समितिकी संयोजक किरण गौतमलगायतले विद्यालाई जिताएर महिला नेतृत्व स्थापित गर्न पोखरेली जनता चुक्न नहुनेमा जाड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्