काठमाडौं, असोज १८ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा बाढीको जोखिम अत्यधिक बढेको चेतावनी जारी गरेको छ ।
विभागले शनिबार बिहान जारी गरेको पूर्वानुमान अनुसार आजदेखि साेमबारसम्म देशका पूर्वदेखि पश्चिमसम्मका नदी–नाला र तटीय क्षेत्रहरूमा पानीको बहाव तीव्र हुने र कतिपय स्थानमा आकस्मिक बाढी (Flash Flood) समेत आउन सक्ने सम्भावना रहेको छ ।
महाशाखाले अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर र चितवन तथा आसपासका जिल्लामा अति उच्च जोखिम रहने पूर्वानुमान गरेकाे छ । ती जिल्लामा भारी वर्षाका कारण बाढी, डुबान र पहिरोको खतरा अत्यधिक हुने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ, रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्लामा समेत उच्च जोखिम रहने महाशाखाले जनाएकाे छ । ती क्षेत्रमा पनि निरन्तर वर्षा र जमिन भिजेकाले आकस्मिक पहिरो तथा नदीको सतह तीव्र गतिमा बढ्न सक्ने चेतावनी दिइएको छ ।
यसै गरी कास्की, लमजुङ, पर्वत, स्याङ्जा, तनहुँ, गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान, दाङ, बाँके र बर्दियामा साना नदी–नालाको बहाव उल्लेख्य रूपमा बढ्ने र आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहने महाशाखाले जनाएको छ ।
विभागले आइतबारको पूर्वानुमानसमेत सार्वजनिक गर्दै कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र मधेस प्रदेश भई बहने स–साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने जनाएको छ ।
विभागले नदी तटीय क्षेत्र, पहाडी भिरालाे र भू–स्खलन सम्भावित स्थानका बासिन्दाहरूलाई सतर्क रहन, स्थानीय तह र सुरक्षा निकायलाई जोखिम न्यूनीकरणका उपायमा तत्परता राख्न र सर्वसाधारणलाई अनावश्यक यात्रा नगर्न अनुरोध गरेको छ ।














प्रतिक्रिया दिनुहोस्