जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार १४:३१

विपद् राेकथाम र उद्धारमा राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीलाई एमालेकाे अपिल


काठमाडौं, असोज १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले देशभर भइरहेको लगातार वर्षापछि उत्पन्न हुन सक्ने जोखिमप्रति सबैलाई सचेत रहन र सचेत बनाउन अपिल गर्नुभएको छ ।

महासचिव पोखरेलले शनिबार एक सार्वजनिक सन्देश जारी गर्दै हाल देशका विभिन्न भागमा भइरहेको भारी वर्षाले बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् निम्त्याउने सम्भावना रहेको उल्लेख गर्नुभएको छ । उहाँले यस्तो अवस्थामा जनताको सुरक्षालाई प्राथमिकतामा राखी सबै पक्षलाई पूर्वतयारीमा रहन आग्रह गर्नुभएको हो ।

पोखरेलले आफ्नो सन्देशमा खोलानाला तथा नदी किनारमा नजान, लामो दूरीको अनावश्यक यात्रा नगर्न र जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्न अपिल गर्नु भएकाे छ । उहाँले आवश्यकतानुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न एमालेका स्थानीय पार्टी कमिटीहरूलाई पनि विशेष अनुरोध गर्नुभएको छ । पोखरेलले विपद् न्यूनीकरण र राहतमा राजनीतिक कार्यकर्ताहरू अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

‘सचेत रहौँ, सचेत बनाऔँ, निरन्तर वर्षा भइरहेको छ र मौसम पूर्वानुमान अनुसार देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको छ, यस्तो अवस्थामा: खोलानाला तथा नदी किनारमा नजानुहोस्, लामो दूरीको अनावश्यक यात्रा नगर्नुहोस्, जोखिमयुक्त स्थानबाट सुरक्षित स्थानतर्फ सर्नुहोस्, भारी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता विपद् आउन सक्ने सम्भावना भएकाले सबैलाई पूर्वतयारीमा रहन अनुरोध गर्दछौँ,  साथै, आवश्यकता अनुसार राज्यका सरोकारवाला निकायसँग सहकार्य गर्न स्थानीय पार्टी कमिटीहरूलाई विशेष अनुरोध गर्दछौँ’, उहाँकाे अपिल छ ।

हाल देशका थुप्रै स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा पनि केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको चेतावनी दिएको छ ।