जनता टाइम्स

१८ आश्विन २०८२, शनिबार १५:१८

अविरल वर्षाका कारण विपद जाेखिम बढेपछि आइतबार र सोमबार  सरकारले दियाे सार्वजनिक बिदा


काठमाडौं, असोज १८ ।सरकारले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै आइतबार र सोमबार (असोज १९ र २० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका अनुसार निरन्तर वर्षासँगै देशका विभिन्न स्थानमा सडक अवरुद्ध, पहिरो र बाढीका घटना बढिरहेका कारण आकस्मिक जोखिम न्यूनीकरणका लागि दुई दिनका लागि सरकारी कार्यालयहरू बन्द गरिने भएको हो।

सरकारी कार्यालयहरू आइतबारदेखि नियमित रूपमा सञ्चालनमा आउने तयारी भइरहेका बेला देशका प्रमुख राजमार्गहरूमा पहिरो खसेपछि यात्रा जोखिमपूर्ण बनेको भन्दै बिदा दिने निर्णय गरिएको हो।

यसअघि आज (शनिबार) गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीहरूसँग सुरक्षा र उद्धार तयारीबारे विशेष बैठकसमेत बसेको थियो। बैठकमा उच्च जोखिमयुक्त बस्तीहरूमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली परिचालन गर्ने र आकस्मिक उद्धारका लागि सेनाको हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।