जनता टाइम्स

२१ आश्विन २०८२, मंगलवार २०:०१

सिन्धुपाल्चोकमा बस दुर्घटना, २१ जना घाइते


काठमाडौं, २१ असोज । सिन्धुपाल्चोकमा मंगलबार साँझ बस दुर्घटना भएको छ। चरिकोट-खाडीचौर सडक खण्डको सुनकोशी-७ पाँचकिलोमा बस दुर्घटना हुँदा २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको हो ।

रामेछापको खाडादेवी गागलभदौरे ८ बाट चरिकोट हुँदै काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २५२१ नम्बरको बस अनियन्त्रित भई सडकको भित्तामा ठक्कर खाएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रहरी चौकी लामोसाँघुबाट अशोक महतोको नेतृत्वमा ट्राफिक सहित गएको टोलीले घटनास्थल पुगेर चालक, ३ जना नाबालक समेत गरी २१ जना घाइतेलाई उद्वार गरी उपचारका लागि सिन्धु सदाबहार अस्पताल खाडीचौर पठाइएको प्रहरीले बताएको छ।

सबै घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरी कार्यालयले जनाएको हो ।