-नवराज पथिक-
रामेछाप, असोज २१ । असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्ग निर्माणको काम सुरु भएको छ ।
बाढीले सडक बगाएको ठाउँमा डाइभर्सन निर्माण गरी अस्थायी रूपमा सडक सञ्चालनको लागि निर्माणको काम थालिएको हो ।
बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम सुरु भएको छ । सोमबारबाट दुवैतर्फबाट निर्माणको काम थालिएको हो ।
रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम थालिएको सडक डिभिजन कार्यालय खाल्टेका प्रमुख पारसमणि हमालले जानकारी दिनुभयो ।

बिपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई ठाउँमा सडक क्षति भएको उहाँले बताउनुभयो । त्यस मध्ये एक ठाउँमा गत वर्ष बगाएर अस्थायी रूपमा सञ्चालन गरिएकै करिब ५ सय मिटर सडक पुन बगाएको उहाँले जानकारी दिनुभयो । यस वर्ष अर्को थप करिब ५ सय मिटर सडकमा पनि क्षति पुगेको हमालले बताउनुभयो ।
बगाएको सडक डोजर र टिफर प्रयोग गरेर फिलिङ गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो । बिहानदेखि राति १० बजेसम्म काम हुने गरेको हमालले बताउनुभयो । सिन्धुलीकोको भागमा अब दुई दिनमा सडक बनिसक्ने उहाँले जानकारी दिनुभयो । ‘सिन्धुलीको भाग अब हामी दुई दिनमा क्लियर गर्छौँ’, उहाँले भन्नुभयो ।

सडकको काभ्रेपट्टिका भागमा पनि चौकीडाँडाबाट सोमबारदेखि निर्माण कार्य सुरु भइसकेको छ । सडकको अवस्था र कामकाे प्रगति बारे बुझ्न वाग्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठ मंगलबार नेपालथाेक पुग्नु भएको थियो । उहाँलाई प्रमख हमालले कार्यप्रतिको अवस्था बारे जानकारी गराउनुभएको थियो ।
दुवै तिरबाट काम हुँदा एक हप्ता भित्र अस्थायी सडक निर्माण गरी यातायात साधन सञ्चालन हुने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्