जनता टाइम्स

२३ आश्विन २०८२, बिहीबार ०८:४३

सुशीला, ओमप्रकाश, बालेन र सुदन जस्ता पात्रलाई जनताले मङ्सिरसम्ममा घिसार्ने छन् : सूर्य थापा


काठमाडौं, असोज २३ । नेकपा (एमाले) का नेता सूर्य थापाले अहिलेको सरकार र त्यसका निर्णयहरूलाई ‘असंवैधानिक’ भन्दै ती पात्रहरूले देशमा चुनाव गराउने नैतिक र कानुनी अधिकार नभएको टिप्पणी गर्नु भएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले वर्तमान प्रधानमन्त्री ‘अनिर्वाचित, मनोनीत र असंवैधानिक’ भएको बताउनुभएको छ। ‘सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी होइनन्, यिनका कामको आजीवन फेहरिस्तले नै बताउँछ, यिनीहरूलाई चुनावको फोबिया छ’, उहाँले लेख्नु भएको छ ।

थापाले हालैका राजनीतिक निर्णय र एमाले नेतृत्वमाथिको धरपकडलाई ‘गैरकानुनी आदेश’को परिणाम ठहर गर्दै त्यसको प्रतिवादमा जनमत सशक्त रूपमा उत्रिने चेतावनी पनि दिनुभएको छ। ‘चुनाव गराउने मति भए पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन्, लोकतन्त्रमा हुल अफ ल (rule of mob) किमार्थ स्वीकार्य छैन’, उहाँले लेख्नु भएको छ ।

चारवटा सुरक्षा निकायका प्रमुखहरूले समेत यस्ता गलत आदेश अस्वीकार गरिसकेका बताउँदै सरकार असफल भइसकेको बताउनुभयो। ‘गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै’, उहाँले लेख्नु भएको छ ।

थापाले आगामी मङ्सिरसम्ममा जनताले संविधान र कानुन विपरीत कार्य गर्नेहरूलाई राजनीतिक हिसाबको सामना गराउने चेतावनी पनि दिनुभएको छ । थापाले लेख्नु भएको छ- ‘जनताले मङ्सिर लाग्दा नलाग्दै यिनलाई घिसारेर कहाँ पुर्‍याउँछन्, सुशीला, ओमप्रकाश, बालेन र सुदन जस्ता पात्रहरूले हेक्का राख्न जरुरी छ।’

उहाँले ऐतिहासिक सम्पदा, सरकारी कार्यालय र निजी सम्पत्तिमाथि आगजनी गर्नेले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताउनुभएको छ । राज्यले कानुनबमोजिम कारबाही नगरे टोल-टोलबाट जनकारबाही हुने थापाको चेतावनी छ ।