जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार १७:१९

विमानस्थलमा विमान कम्पनीको दादागिरी : अध्यागमनलाई थाहै नदिई फर्काईदिन्छ नेपाली कामदार


काठमाडौं, मंसिर ६

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बैदेशिक रोजगारीमा गएका व्यक्तिमाथी निजी विमानका कर्मचारीको ज्याजति हुने गरेको खुलासा भएको छ । श्रम स्विकृति लगायतका सकै कागजात हुँदा पनि बोडिङ पास नदिने र फर्काईदिने गरेको वैदेशिक रोजगार विभागले खुलासा गरेको हो ।

विभागका अनुसार पछिल्लो समय यस्ता घटना निक्कै बढेको भनदै आक्रोश पोखेको छ । कतिपय कामदार त विमानस्थलबाटै रुदै विभागको कार्यालय आइपुग्ने गरेको महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिनुभयो । श्रम स्वीकृति लगायत सबै कानूनी प्रक्रिया पूरा गरेर विमानस्थलमा पुगेका कामदारलाई फिर्ता गर्ने गरिएको भन्दै विभागले कडा आपत्ति जनाएको छ ।

विभागका महानिर्देशक भुसालले गैरजिम्मेवार ढंगले कामदारलाई विमानस्थल फिर्ता गर्नु गलत भएको बताउदै यसमा विमान कम्पनी र विमानस्थल प्रशासनको भूमिका रहेको बताउनु भयो । अध्यागमनसँग सधै समन्वय भएपनि विमान कम्पनीहरुले कामदार फिर्ता पठाउन नसक्ने उहाको भनाई छ । ‘श्रम स्वीकृति लिएर गएकालाई रोक्नुपर्ने कुनै कारण छैन’,निर्देशक भुसालले भन्नुभयो, ‘कुनै शंका रहे अध्यागमनले थप सोधपुछ र अनुसन्धान गर्न सक्छ । तर, अध्यागमनमा नै पुग्न रोकेर यात्रुलाई फिर्ता पठाइँदा वैधानिक रुपमा जान लागेका कामदार पनि पीडित भईरहेका छन् ।’

श्रम स्वीकृति लिएर गएका सोझासिधा व्यक्तिलाई विभिन्न बहानामा त्रिभुवन विमानस्थलमा बोर्डिङ पास नदिई र त्यसको कारण समेत नखुलाई फिर्ता पठाउने गरिएको गुनासो विभागमा प्राप्त हुने क्रम बढेको छ । उनीहरुलाई फर्काउनुपर्ने कुनै जायज कारण भएमा लिखित रुपमा दिनुपर्ने भएपनि कम्पनीले त्यस्तो पत्र दिने गरेका छैनन् । यसरी फिर्ता गर्दा कामदारको टिकट बापतको रकम नोक्सान हुने गरेको र कतिपयले समयमै कम्पनीमा पुग्न नसकेर जागिर गुमाउन परेको भुसालले बताउनु भयो ।