जनता टाइम्स

६ मंसिर २०७६, शुक्रबार २०:२९

विद्युत निर्यातका लागि बजारको खोजी सुरु, बिद्युतमा लगानी गर्न अर्थमन्त्री खतिवडाले राखे यस्तो अफर


काठमाडौं, मंसिर ६ । सरकारले विद्युत निर्यातका लागि बजारको खोजी गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युत निर्यातका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिनुभएको हो ।

काठमाडौंमा जारी उर्जा सम्मेलनलाई आज सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले विद्युत उत्पादन बढाउन वैदेशिक लगानी आकर्षित गर्न सरकारले विभिन्न ऐन, कानुनमा सुधार गरेको तथ्य राख्दै निर्यातका लागि बजारको खोजी भइरहेको बताउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बर्तमान सरकारले १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर आन्तरिक खपत एक हजार पाँच सय मेघावाट मात्रै हुने भएकाले विद्युत निर्यातका लागि बजारको खोजी गर्नु परेको अर्थमन्त्री खतिवडाले जानकारी दिनुभयो ।

अर्थमन्त्री खतिवडाले डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरि कार्यान्वयनमा ल्याइएको जानकारी पनि लगानीकर्तालाई गराउनु भयो । ‘डलरमा हुने उतारचढावका कारण नोक्सानी व्यहोर्नुपर्ने अवस्था आउन नदिन ‘हेजिङ’ ऐन लागू गरी कार्यान्वयनमा ल्याइएको छ, ढुक्क भएर लगानी गर्नाेस,’ बाह्य मुलुकका लगानीकर्ताहरुलाई आग्रह गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

अर्थमन्त्री खतिवडाले विश्व बैंकको पछिल्लो तथ्यांकले पनि नेपालमा लगानीको उपयुक्त वातावरण बनेको देखिएको प्रष्ट पार्दै अव नेपालमा लगानी गर्न डराउनुपर्ने अवस्था नरहेको तथ्य राख्नुभयो । जलविद्युत क्षेत्रमा लगानी गरेर पूँजी बजारबाट लाभ लिन सम्बन्धित सबैलाई अर्थमन्त्री खतिवडाले आह्वान पनि गर्नुभयो ।