काठमाडौं, असोज २४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पोलिटब्युरो सदस्य तथा सांसद महेश बस्नेतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा कटौतीलाई ‘सरकारको गम्भीर त्रुटि’ भन्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै बस्नेतले पूर्वप्रधानमन्त्रीको सुरक्षा कटौती सम्बन्धी निर्णयलाई गैरजिम्मेवार कदमको संज्ञा दिनुभएको छ। उहाँले लेख्नु भएको छ, ‘सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको सुरक्षा कटौती गरेको खबर गम्भीर विषय हो, पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारका सबै सरकारहरूको कानुनी र नैतिक दायित्व हो।’
यो दायित्वबाट सरकारले पन्छिन खोज्नु नैतिक दृष्टिले आपत्तिजनक र राजनीतिक दृष्टिले खतरनाक सन्देश भएको उहाँले उल्लेख गर्नु भएको छ। ‘यो दायित्वबाट सरकार भागेको अवस्थामा, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौँ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छौँ’, बस्नेतले लेख्नुभएको छ ।
उहाँले देश र नेतृत्वको सम्मान दलगत आग्रहभन्दा माथि रहेर गर्नुपर्ने औँल्याउनुभएकाे छ । बस्नेतले लेख्नु भएको छ, ‘देश र नेतृत्वको सम्मान आग्रह भन्दा माथि रहेर गरौँ।’
पूर्वप्रधानमन्त्रीको सुरक्षा कटौती केवल प्रशासनिक निर्णय नभई राजनीतिक सन्देशको रूपमा पनि बुझिएको छ। सरकारी सुरक्षा नीतिअनुसार पूर्वप्रधानमन्त्रीहरूलाई ‘विशेष सुरक्षा’ दिनु राज्यको जिम्मेवारी हो।













प्रतिक्रिया दिनुहोस्