काठमाडौं, असोज २४ । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्ने एक मात्र विकल्प निर्वाचन भएको बताउनुभएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै राजनीतिक दलहरू एकजुट भई केन्द्रित हुन उहाँले आग्रह गर्नुभयो । शुक्रवार शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि निर्वाचनको विकल्प नखोज्न दलहरूलाई सचेत गराउनुभयो। ‘लोकतन्त्रमा अस्पष्टता र द्विविधाको ठाउँ हुन सक्दैन,निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कुन दिशातर्फ लैजान्छ भन्ने सोच्न जरुरी छ’, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले लोकतन्त्र र संविधानको रक्षा सबैको साझा उद्देश्य हुनु पर्ने बताउनुभयो । ‘हामी सबैको साझा लक्ष्य लोकतन्त्र र संविधानको रक्षा हो, यो लक्ष्य हासिल गर्ने मार्ग भनेको पारदर्शी, निष्पक्ष र जनमुखी निर्वाचन हो’, उहाँले भन्नुभयो ।
उहाँले सरकारले शान्ति सुरक्षा सुदृढ गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने विश्वास आम नागरिकलाई दिलाउनुपर्ने सुझाव पनि दिनुभयो । बैठकमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने भन्दै सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनुभयो। ‘शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाएर निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी सरकारको हो,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो ।
शीतल निवासमा बसेको उक्त सर्वदलीय बैठकमा अन्तरिम मन्त्रिपरिषद्का सबै सदस्य सहभागी थिए ।
बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुनुन्थ्यो । नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले) बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षमान पुन सहभागी हुनुन्थ्यो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डिपी अर्याल र सह–महामन्त्री विपिनकुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुसाल सहभागी हुनुन्थ्यो ।
जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा (नेपाल) बाट विद्युत् बज्राचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट डा. चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेसम चौधरी तथा नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती पनि बैठकमा सहभागी हुनुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्