जनता टाइम्स

२५ आश्विन २०८२, शनिबार २१:१९

नवजागरण सहकारी नयाँ कार्यक्रमका साथ अघि बढ्ने तयारीमा


रामेछाप, असोज २५ । रामेछापको मन्थलीस्थित नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड सेयर सदस्यहरूबिच नयाँ कार्यक्रमका साथ अघि बढ्ने तयारीमा जुटिरहेको छ ।

देशका विभिन्न सहकारी संस्थाहरू आर्थिक अनुशासन नहुँदा जोखिममा परिरहेका बेला नवजागरणले भने संस्थालाई बलियो बनाउँदै सेयर सदस्यहरूको अधिकतम हितमा काम गरिरहेको संस्थाका अध्यक्ष सोमेश थापाले जानकारी दिनुभयो ।

रामेछापका आठवटा स्थानीय तहमध्ये मन्थली र रामेछाप नगरपालिका, खाँडादेवी र लिखु तामाकोशी गाउँपालिका गरी चारवट स्थानीय तहलाई कार्यक्षेत्र बनाएको सहकारीका हाल १० हजार २ सय २४ जना शेयर सदस्य रहेका छन् । सहकारीका सचिव नारायण कार्कीका अनुसार सहकारीले आफ्नो कार्यक्षेत्रभित्रका सबै सदस्यहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने लक्ष्य लिएको छ ।

सहकारीले आगामी वर्षका लागि लैजान सकिने कार्यक्रमबारे सदस्यहरूबाट सुझाव सङ्कलन गर्न विस्तारित मञ्च बैठक आयोजना गरेको छ । उक्त बैठकमा आउने वर्षका योजनाबारे वृहत् छलफल भएको र सदस्यहरूको सुझावका आधारमा सहकारीले आगामी कार्ययोजना तयार पार्ने संस्थाका सचिव नारायण कार्कीले जानकारी दिनुभयो ।

सहकारीका व्यवस्थापक रमेश उदासका अनुसार नवजागरण सहकारीको कूल सम्पत्ति हाल ७१ करोड ८१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यसमध्ये शेयर पुँजी ४ करोड २५ लाख ९४ हजार, बचत निक्षेप ५३ करोड ८३ लाख ६८ हजार र लगानी ३४ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, सहकारीको संस्थागत पुँजी ७ करोड २२ लाख २२ हजार रुपैयाँ र जगेडा कोषमा ६ करोड ९७ लाख ४७ हजार रुपैयाँ रहेको छ । अन्य कोषमा ८६ लाख रुपैयाँ रहेको उदासले जानकारी दिनुभयो ।

सदस्यहरूको हितका लागि सहकारीले ज्येष्ठ नागरिक सम्मान, सुत्केरी सदस्यलाई सहयोग, सदस्यका बालबालिकाहरूलाई शिक्षामा सहयोग, सदस्य तथा परिवारका सदस्यको मृत्युमा आर्थिक सहयोग लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अध्यक्ष थापाका अनुसार सहकारीले सदस्यहरूको आर्थिक सशक्तीकरणसँगै सामाजिक उत्तरदायित्वमा समेत जोड दिएको छ । उहाँले भन्नुभयो, ‘नवजागरण सहकारी केवल बचत र ऋणको संस्था होइन, यो सदस्यहरूको सामूहिक प्रयास र विश्वासको प्रतीक हो, हामी आगामी वर्षहरूमा अझ  अनुशासित, पारदर्शी र सक्षम सहकारीका रूपमा अघि बढ्ने प्रतिबद्धतामा छौँ ।’