जनता टाइम्स

२८ आश्विन २०८२, मंगलवार १३:१८

यस वर्षको भाइटिकाकाे साइत कात्तिक ६ गते बिहान ११ः३९ बजे


काठमाडौं, असोज २८। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे भाइटिकाको साइत उत्तम रहेको छ।

समितिका सदस्य प्रा. देवमणि भट्टराईका अनुसार राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्ने भए पनि सर्वसाधारणका लागि साे दिन जुनसुकै बेला टीका लगाउन कुनै समस्या छैन। ‘धनु लग्न, कन्या नवमांश, चर बेला, अभिजित् योग र विजय मुहूर्तको योग भएकाले यो समय अत्यन्त शुभ मानिएको हो ।

समितिले सार्वजनिक गरेको पात्रो अनुसार यस वर्षको यमपञ्चक (तिहार) पर्व कात्तिक १ गते शनिबारदेखि सुरु हुनेछ। सो दिनदेखि यमदीप दान सुरु हुने र धन त्रयोदशी तथा धनतेरस पर्व पनि यही दिन पर्ने उल्लेख छ।

कात्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती परेकाे छ। कात्तिक ३ गते सोमबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा हुनेछ। सो दिन दिउँसो २ः५२ बजेसम्म कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले सन्ध्याकालमा लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय आधार रहेको समितिले जनाएको छ।

औँसी तिथिमा गरिने स्नान र दान भने कात्तिक ४ गते मंगलबार बिहान गर्नुपर्ने समितिले जनाएको छ। सो दिन दिउँसो ४ः२९ बजेसम्म औँसी तिथि रहनेछ।

शास्त्रीय विधिअनुसार कात्तिक ५ गते बुधबार गाई, गोरु र आत्म (म्ह) पूजा गरिनेछ। ‘कृत्यवाटिका’ ग्रन्थका अनुसार आत्मपूजा कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा गर्नुपर्ने उल्लेख छ। यो पूजा विशेषगरी नेवार समुदायमा प्रचलित छ।

यसै दिन नेपाल संवत् ११४६ को नयाँ वर्ष मनाइनेछ। प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यो निर्णय गरिएको हो।

शास्त्रीय विधिअनुसार कात्तिक ६ गते बिहीबार भाइपूजा तथा भाइटिका मनाइनेछ। नेपाल संवत् अनुसार यसलाई किजा पूजा भनिन्छ। शास्त्रीय ग्रन्थमा उल्लेख ‘भ्रातृपूजा’ शब्दले दाजु र भाइ दुवैलाई जनाउने भएकाले ज्येष्ठताको क्रम अनुसार टीकाटाला गर्नु शास्त्रसम्मत हुने समितिले जनाएको छ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म मनाइने तिहारलाई यमपञ्चक भनिन्छ। यस अवधिमा हरेक साँझ यमदीप दान गर्ने परम्परा छ। परिवारका सदस्यहरूको नाम उच्चारण गरेर दीपदान गर्दा यमयातनाबाट मुक्ति पाइने विश्वास शास्त्रमा उल्लेख छ।

काग र कुकुरलाई यमदूतका रूपमा सम्मानपूर्वक भोजन दिने वैदिक परम्पराले मृत्युपश्चात् यमलोकमा सहज मार्ग प्राप्त हुने विश्वास पनि गरिएको छ।