जनता टाइम्स

२९ आश्विन २०८२, बुधबार ११:५३

फलामको खोरमा थुनिएका युवाको उद्धार


रामेछाप, असोज २९ । मानसिक समस्याका कारण एक महिनादेखि कोठामा थुनिएका रामेछापको खाँडादेवी गाउँपालिका–२, चुल्ठेपानीका २३ वर्षीय दिनेश बुढाथोकीको मङ्गलवार उद्धार गरिएको छ।

मानव सेवा आश्रम, काठमाडौँबाट आएको टोलीले स्थानीय पालिका र वडा कार्यालयको सहयोगमा बुढाथोकीलाई उद्धार गरी उपचारका लागि काठमाडौँ लगेको हो।

मानसिक समस्याले नियन्त्रण बाहिर पुगेपछि परिवारले सुरक्षाका दृष्टिले उनलाई फलामको बार लगाइएको कोठामा थुनेर राख्न बाध्य भएको थियो। खाँडादेवी गाउँपालिका–२ का वडा अध्यक्ष केशवकुमार प्रधानका अनुसार दिनेश विगत एक महिनादेखि त्यही कोठामा बन्द अवस्थामा हनुहुन्थ्याे। ‘उनी मानसिक समस्याबाट पीडित थिए र परिवारका सदस्यलाई देख्ने बित्तिकै आक्रमण गर्ने गर्थे,’ वडा अध्यक्ष प्रधानले भन्नुभयाे, ‘त्यसैले परिवारले असुरक्षा महसुस गर्दै उनलाई फलामको ग्रील भएको कोठामा राख्न बाध्य भयो।’

दिनेशका ८१ वर्षीय पिता यमबहादुर बुढाथोकीले छोराको उद्धारसँगै फेरि उपचारको आस पलाएको बताउनुभयाे ।  ‘हामीले सके जति उपचार गर्‍यौँ, तर केही भएन,’ उहाँले भन्नुभयाे ‘अब निको हुने आशा पलाएको छ।’

दिनेशकी भाउजू मनीषा बुढाथोकीका अनुसार २०७२ सालको भूकम्पपछि उनलाई मानसिक समस्या देखिन थालेको हो। पछिल्ला ६ महिनादेखि चिकित्सकले दिएको औषधिले समेत काम नगरेपछि परिवारको सुरक्षाका लागि उनलाई कोठामै थुनेर राख्न बाध्य भएको बताउनुभयाे । ‘अस्पताल मात्रै होइन, धामी–झाँक्री सबै ठाउँ धायौँ, तर निको भएन,’ उहाँले भन्नुभयाे, ‘तीन वर्षभन्दा बढी सुधार गृहमा राखेर पनि उपचार गरियो, तर केही सुधार देखिएन।’

उहाँका अनुसार पछिल्ला महिनामा औषधिले असर गर्न छाडेपछि दिनेश अत्यन्त आक्रामक बन्दै जानुभयाे। त्यसैले सुरक्षाका कारण परिवारले उहाँलाई फलामको ग्रील भएको कोठामा राख्न बाध्य भएको मञ्जुले बताउनुभयाे ।

खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठका अनुसार दिनेशलाई फलामको ग्रील र शौचालयसहितको कोठामा थुनिएको अवस्थामा उद्धार गरिएको हो।‘पालिकाको पहलमा मानव सेवा आश्रम, काठमाडौँले उद्धार गरेको हो,’ अध्यक्ष श्रेष्ठले भन्नुभयाे, ‘आश्रमबाट तीन जनाको टोली मङ्गलवार गाउँमा पुगेर उनलाई उद्धार गरेको हो।’

उद्धारपछि बिरामीको उपचारका लागि तत्कालका लागि गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे । उद्धारपछि उपचारको तयारीसँगै दिनेशका आमाबुबा र परिवारका सदस्यले खुसी व्यक्त गरेका छन्।