काठमाडौं, असोज २९ । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले पार्टीको दशौँ केन्द्रीय कमिटी बैठकबाट नेकपा एमाले एकताबद्ध भएर अघि बढ्ने बताउनुभएको छ ।
बुधबार पार्टी केन्द्रीय कमिटी बैठक पछि सञ्चारकर्मीसँग बोल्दै बर्तौलाले मुलुकको सामु षडयन्त्रमूलक ढङ्गबाट जटिल परिस्थिति निम्त्याइएको बताउनुभयो । बर्तौलाले यी सबै सङ्कटको समाधान दिने गरी नेकपा एमाले सुदृढ एकताका साथ अघि बढ्ने निष्कर्ष यो बैठकबाट निस्कने दाबी गर्नुभयो । देश अलोकतान्त्रिक, असंवैधानिक तरिकाले अघि बढिरहेको अवस्थामा संसद्लाई पुनर्स्थापना गरी संसदबाट नै मुलुकका सबै समस्याको वैधानिक तरिकाबाट समाधान गरेर जाने निष्कर्ष बैठकबाट आएको बर्तौलाले जानकारी दिनुभयो ।
बर्तौलाले सामाजिक सञ्जालमा केही पदाधिकारीले अध्यक्षले मार्गप्रसस्त गर्नुपर्छ भनेर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभयो । एमालेको नेतृत्व चयन र बहिर्गमनको आफ्नै विधि र पद्धति रहेको बताउँदै बर्तौलाले त्यसको निर्णय महाधिवेशनले गर्ने स्पष्ट पार्नुभयो । ‘कोही साथीहरूलाई कुनै पदमा काम गर्ने इच्छा जाग्दैमा पद स्वतः खालि हुँदै जाने भन्ने हुँदैन, त्यसको लागि पनि उपयुक्त समय आउनु पर्छ, उपयुक्त फोरमबाट त्यसको बारेमा निर्णय हुन्छ, जसलाई जतिबेला मन लाग्यो त्यही हिसाबले पदहरू माग्दै जाने हो भने अनन्तकालसम्म पार्टीहरू आन्तरिक अन्तर्विरोधमा फस्ने सम्भावना हुन्छ’, उहाँले भन्नुभयो ।
पदाधिकारीले अध्यक्षको राजीनामा माग्दा केन्द्रीय सदस्यले पदाधिकारीको राजीनामा माग्ने कि नमाग्ने ? अन्य साथीहरूले हाम्रो राजीनामा माग्ने कि नमाग्ने ? भन्दै उहाँले प्रश्न गर्नुभयो । ‘के पार्टी यसरी अघि बढ्न सक्छ ?’, उहाँको प्रश्न थियो ।
एमाले विधिमा चल्ने पार्टी भएकोले सबै कुरा विधि र पद्धतिमा चल्ने उहाँले स्पष्ट पार्नुभयो । फेसबुकका आधारबाट कसलाई के चाहना इच्छा भयो भन्ने हिसाबले नेतृत्व परिवर्तन नहुने बर्तौलाले बताउनुभयो ।
मुलुक र पार्टी संकटमा रहेको बताउँदै उहाँले यति बेला सुदृढ पार्टी आवश्यक रहेको बताउँदै उहाँले यसको लागि एकता आवश्यक रहेको बताउनुभयो । पार्टी केन्द्रीय कमिटी बैठक यसै दिशामा अघि बढेको बर्तौलाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्