रामेछाप, असोज ३०। रामेछापको भूजीमा यस वर्ष सम्पन्न ‘भूजी लिग फुटबल प्रतियोगिता’को उपाधि लिखु भूजी युवा क्लब रामेछाप (लिभुरा) ले जितेको छ।
भुजीस्थित अमृत घामछाया खेल मैदानमा बुधबार सम्पन्न पुरुष तर्फको फाइनल खेलमा लिभुराले बाम्ती भण्डारलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। खेलको ८९औँ मिनेटमा लिभुराका ९ नम्बर खेलाडी बिनत सुनुवारले निर्णायक गोल गरेका थिए।
उपाधिसँगै प्रथम हुने लिभुराले नगद १ लाख २७ हजार ७ सय २७ रुपैयाँ, स्वर्ण पदक र रनिङ शिल्ड प्राप्त गरेको छ। उपविजेता बाम्ती भण्डारले ६७ हजार ७ सय २७ रुपैयाँ नगद र रजत पदकमा चित्त बुझाएको छ।
भूजी फुटबल क्लबका अध्यक्ष शुभराज सुनुवारका अनुसार, प्रतियोगिता यस वर्ष पनि अत्यन्त उत्साहजनक सहभागितामा सम्पन्न भएको छ।
खेलमा लिभुराकै सुजन सुनुवार ‘म्यान अफ द म्याच’ घोषित भए। पुरुष लिगमा कुल ९ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको सञ्चालन तथा संयोजन भूजी फुटबल क्लबले गरेको थियो।
महिलातर्फ पनि भूजीकै सफलता

भूजी लिग अन्तर्गत महिला फुटबल प्रतियोगितामा पनि भूजी फुटबल क्लब रामेछापकाे ‘ए’ टिम विजेता बन्न सफल भएको छ। फाइनलमा ‘ए’ टिमले आफ्नै ‘बी’ टिमलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्यो भने उपविजेता टिमले २० हजार रुपैयाँसहित रजत पदक प्राप्त गर्यो। महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए।













प्रतिक्रिया दिनुहोस्