जनता टाइम्स

१ कार्तिक २०८२, शनिबार ०८:३५

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै


काठमाडौं, कात्तिक १। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ।

असोज २८ गतेदेखि प्रारम्भ भएको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने कार्यक्रम रहेको छ। बैठकमा हालसम्म विभिन्न १० वटा प्रस्तावमाथि नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी रहेकाे पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयाे ।

बैठकमा कांग्रेसका शीर्ष नेतादेखि केन्द्रीय सदस्यहरूले पार्टी संगठन सुदृढीकरण, सरकारको काम कारबाही, प्रदेश र स्थानीय तहमा पार्टीको भूमिका, भावी रणनीति र आसन्न महाधिवेशन तयारीबारे धारणा राख्ने क्रम चलिरहेको छ।

शुक्रबार सम्पन्न बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा। डिला संग्रौला, डा। गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा। चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ र भरतकुमार शाहले धारणा राख्नु भएकाे थियाे ।

बैठकको प्रारम्भिक चरणमा सभापति शेरबहादुर देउवाले पार्टी एकता, अनुशासन र आगामी राजनीतिक बाटोबारे मन्तव्य व्यक्त गर्नुभएको थियो। त्यसयता कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ।