जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार १६:०८

मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ: केपी ओली


काठमाडौं, कात्तिक २ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति–सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको भएको बताउनुभएको छ।

आइतबार प्रेस चाैतारी नेपालद्वरा काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा अध्यक्ष ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिनु भयो। उहाँले भन्नु भयो, ‘देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढङ्गले स्थापना हुनुपर्छ, हरेक व्यक्तिले आफ्नो जिउधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो।’

उहाँले समाजका प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो। देश, जनता र मानवजातिप्रति आफ्नो निष्ठा अडिग रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले राष्ट्र र जनताप्रतिको बफादारीलाई आफ्नो राजनीतिक जीवनको मूल आधार भएको बताउँदै, मूल्य, मान्यता र निष्ठा नै स्थायी राजनीति निर्माणको आधार हुने उल्लेख गर्नुभयो। ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ, जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, मैले भनेका मूल्य–मान्यताहरू मेरा निष्ठाका विषय हुन्।’

आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको पनि उहाँले दाबी गर्नुभयो। अहिले सेल्फ सेन्सरसिपकाे नाम दिएर पत्रकारहरू डराएका उहाँले बताउनुभयो । ‘म प्रधानमन्त्री हुँदा पत्रकारहरूले डराएर लेख्नुपर्ने अवस्था थिएन, आत्मसेन्सर गर्ने वा आफैँलाई रोक्ने आवश्यकता थिएन।’

उहाँले मुलुक विकास र स्थायित्वको दिशामा अघि बढिरहेको समयमा अहिले फेरि अस्थिरता बढेको बताउनुभयो। उहाँले भन्नु भयो, ‘देश सार्वभौमसत्ता जोगाउँदै अगाडि बढिरहेको थियो, तर अहिले त्यो अवस्था भताभुङ्ग भएको छ।’