जनता टाइम्स

२ कार्तिक २०८२, आईतवार १८:४४

रामेछापमा सिडिएसद्वारा तीन वर्षमा २ हजार ५ सयभन्दा बढी युवालाई सिप प्रदान


रामेछाप, कात्तिक २ । रामेछापमा सामाजिक विकासका लागि सक्रिय रहँदै आएको सामुदायिक विकास समाज (सिडिएस) ले तीन वर्षको अवधिमा जिल्लाका दुई हजार पाँच सयभन्दा बढी युवाहरूलाई सिप प्रदान गरेको छ।

संस्थाले व्यावसायिक तथा प्राविधिक सिप र कृषि तालिममार्फत रोजगारी सिर्जना र उद्यमशीलता प्रवर्द्धन परियोजना  मार्फत गरेको कार्यक्रममा सहभागी युवाहरूले सो सीप सिकेका हुन्। सो कार्यक्रम मन्थली नगरपालिका, खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा सञ्चालन गरिएको थियो।

परियोजनाका फोकल पर्सन उत्तम ढुङ्गानाले कृषि तालिममार्फत १ हजार ४ सय ८९ जना किसान लाभान्वित भएका बताउनुभयो। उहाँका अनुसार परियोजनाअन्तर्गत सञ्चालन भएका ५२ वटा सिप विकास तालिमबाट एक हजारभन्दा बढी युवाहरू प्रशिक्षित भएका छन् । उहाँले प्राविधिक सिप विकास तालिम लिने सहभागीहरूलाई सिटिइभिटी (CTEVT) को सीप जाँच परीक्षा दिलाइएको र व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक उपकरणहरू निःशुल्क प्रदान गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार तालिम लिएका युवाहरूले हालसम्म ५२ वटा साना उद्यम सञ्चालन गरेका छन् ।  जसमा ६८ जना युवा प्रत्यक्ष रूपमा संलग्न छन्। सिप सिकेर सिटिइभिटीको प्रमाणपत्र प्राप्त गरेका युवाले विदेशमा समेत राम्रो तलबसहित रोजगारी पाउन सफल भएका उहाँले बताउनुभयो।

परियोजनाको वार्षिक समन्वय बैठकमा बोल्दै संस्थाका निर्देशक मिलन घिसिङले तालिम लिने युवामध्ये १८ प्रतिशत युवाहरू हाल पनि कुनै पेसा वा व्यवसायमा संलग्न नभएको बताउनुभयो। उहाँले परियोजनालाई स्थानीय सरकारसँग जोडेर निरन्तरता दिनु चुनौतीपूर्ण रहेको अनुभव सुनाउनुभयो।

कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिहरूले सामाजिक संस्थाहरूले स्थानीय तहसँग समन्वय र सहकार्यमा सञ्चालन गरेका परियोजनाहरू सकिएपछि ती योजनाहरूलाई स्थानीय तहले ग्रहण गरेर निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो। यसको लागि नागरिक दबाब आवश्यक रहेको उहाँहरूको धारणा छ ।