काठमाडौं, कातिक ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले आफूलाई विभीषण भनेर कतिपयले कटाक्ष गरेको भन्दै त्यसको प्रतिवाद गर्नूभएको छ । सामाजिक सञ्जालमार्फत् उहाँले आफूलाई विभीषण भन्नेहरू रावण पक्षधर भएको बताउनुभएको छ । ‘रामायणमा एक पात्र छन् विभीषण । एउटै नाम गाली र सम्मानमा प्रयोग हुन सक्ने विशेष पात्र हो । सम्झँदा रोचक लाग्छ’ उहाँले लेख्नुभएको छ, ‘रावण पक्षका लागि विभीषण गाली दिनका लागि प्रयोग हुने नाम हो ।
तर राम पक्षका लागि त्यहि विभीषण भनेको सम्मानित नाम हो ।’ आफूलाई रास्वपाका सभापति रवि लामिछाने निकट व्यक्तिहरूले विभीषण भनेर टिप्पणी गरेपछि यस्तो स्ट्याटस लेखेको कार्कीले निकटस्थहरूसँग बताउनुभएको हो । उहाँले सामाजिक सञ्जालमा थप लेख्नुभएको छ, ‘यसैले बुझ्नुहोस् ल, तपाईंले कसैलाई विभीषण भनेर गाली गर्दै हुनुहुन्छ भने तपाईंले आफ्नो स्वामीलाई रावण भन्दै हुनुहुन्छ ।’ पछिल्लो समय रास्वपामा नेताहरूका असन्तुष्टि सार्वजनिक भइरहेका छन् । यसअघि डा.तोसिमा कार्कीको पनि असन्तुष्टि सार्वजनिक भएको थियो । रास्वपाकै नेता कार्की लगायतका नेताहरू वैकल्पिक र नयाँ शक्तिलाई जोड्ने भनेर समेत अनौपचारिक÷औपचारिक भेलामा रहेका छन् । यही बेला कार्कीले पनि रास्वपाको संस्थापन पक्षतर्फ कटाक्ष गरेको रास्वपाका नेताहरू बताउँछन् ।













प्रतिक्रिया दिनुहोस्