काठमाडौं, कात्तिक ४। प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई चुनाव सफल बनाउन आ–आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नु भएको छ ।
मंगलबार दलहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले चुनावको विषयलाई लिएर राजनीतिक दलले व्यक्त गरेको चिन्दा प्रति सरकार गम्भीर रहेको बताउनुभयो । ‘यहाँहरूले व्यक्त गर्नुभएका चिन्ता र चासो सम्बोधन गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।
छलफलमा राजनीतिक दलका नेताहरूले फागुन २१ गते चुनाव हुनेमा शङ्का व्यक्त गर्नु भएको थियो । राजनीतिक दलसँग संवाद नगरी सकारका भागेकोमा उहाँहरूले असन्तुष्टि समेत व्यक्त गर्नु भएको थियो । उहाँले संवादमा ढिलाइ हुनुको कारणसमेत स्पष्ट पार्दै हालसम्म सरकार घाइतेहरूको उपचार, मृतकको शव व्यवस्थापन, परिवारका लागि राहत, आन्दोलनकारी पक्षका आवाज सुन्ने कार्यमा व्यस्त रहेको कारण छलफलमा ढिलाइ भएको बताउनुभयो ।
उहाँले अब जेनजी युवासँग संवादमा बस्न र स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा चुनावतिर अघि बढ्न दलहरूलाई आग्रह गर्नुभयो । दलहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले सरकार भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध रहेको बताउनुभयो ।
कार्कीसँग छलफलका लागि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १४ दलमध्ये ११ दलका नेता बालुवाटार पुग्नु भएको थियो। छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत सहभागी हुनुहुन्थ्याे। त्यस्तै नेकपा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनुभएको थियो ।
नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डा. स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अध्यक्ष उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी तथा नेमकिपाबाट प्रेम सुवाल सहभागी हुनुभएको थियो । जनमत पार्टीबाट चन्दनकुमार सिंह र एकीकृत समाजवादी पार्टीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला सहभागी हुनुहुन्थ्याे ।
संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसँगै अर्थ मन्त्री रामेश्वर खनाल , ऊर्जा मन्त्री कुलमान घिसिङ, गृह मन्त्री ओमप्रकाश अर्याल, कृषि मन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल सहभागी हुनुभएको थियो ।
त्यस्तै संवादमा पर्यवेक्षकद्वय प्रा.केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्