जनता टाइम्स

६ कार्तिक २०८२, बिहीबार ०९:००

राष्ट्रिय युवा संघ नेपालकाे पहलमा कमलामाईको सडकमा २ सय ५ सडक बत्ती


सिन्धुली, कात्तिक ६ । कात्तिक ६ सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताहरूको पहलमा नगरका विभिन्न वडामा हालसम्म २ सय ५ भन्दा बढी सडक बत्ती जडान गरिएको छ ।

पार्टीका नगर सचिव कैलाश ढुङ्गेलका अनुसार सडक बत्ती जडानका लागि आवश्यक सबै सामग्री स्थानीय स्तरमै सहयोग सङ्कलन गरेर जुटाइएको हो । ‘सरकारी निकायको बजेटको भर नपरी युवाहरूले आफैं योगदान गरेर गाउँ उज्यालो बनाउने अभियान चलाउनुभएको हो,’ उहाँले बताउनुभयो ।

ढुङ्गेलका अनुसार हालको वडा नं १० अन्तर्गत साविक १३, १५, १६, १७ र १८ नम्बर वडामा पर्ने भडार, कोरुङ खोला, सरकारी टोल, जहान टोल हुँदै दोभानसम्म र रानीचुरीका मुख्य सडक पोलमा बत्ती जडानको काम सुरु गरिएको हो । ती क्षेत्रमा अझ केही पोलमा बत्ती जडान गर्ने तयारी भइरहेको र बाँकी काम तिहारपछि सम्पन्न गरिने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

सामूहिक पहल र श्रमदानबाट बत्ती खरिद र जडानको सम्पूर्ण काम सम्पन्न भएको हो । ‘हामीले आफ्नो गाउँ आफैँ उज्यालो बनाउने सोचका साथ यो अभियान सुरु गरेका हौं,’ अभियानमा संलग्न युवाले बताउनुभयो ।

बत्ती जडानपछि रातको समयमा हिँडडुल गर्न सहज भएको र सुरक्षामा सुधार आएको भन्दै स्थानीय बासिन्दा उत्साहित भएका छन् । ‘पहिले अँध्यारोका कारण बेलुकी बाहिर निस्कन डर लाग्थ्यो, अहिले सडकमा उज्यालो देख्दा गाउँ नै सुरक्षित महसुस हुन्छ,’ स्थानीय बासिन्दा भन्छन् ।

कमलामाई नगरका विभिन्न टोल र बजार क्षेत्रमा सञ्चालन भइरहेको यो ‘उज्यालो वडा अभियान’ले युवाहरूको सामाजिक नेतृत्व र सामुदायिक सहयोगको उत्कृष्ट उदाहरण स्थापित गरेको देखिन्छ । राजनीतिक संगठनले समाजसेवा र जनसहभागितामार्फत कसरी सकारात्मक परिवर्तन सम्भव छ भन्ने सन्देश यसले दिएको छ ।