काठमाडौं, कात्तिक ९ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ ।
उहाँले मन्त्रिपरिषद् विस्तार गर्दै चारजना मन्त्रीहरू थप्न लाग्नु भएको हो । डा.सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, गणपतिलाल श्रेष्ठलाई भूमि व्यवस्था तथा सहकारी मन्त्री, खगेन्द्र सुनारलाई श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाउन लागिएको छ । चारै मन्त्रीलाई आजै दिउँसो शपथ खुवाउने तयारी छ ।
जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वमा बनेको वर्तमान सरकारमा अहिलेसम्म कुनै पनि जेनजी उमेर समूहका मन्त्री परेका छैनन् ।
आज मन्त्री बन्न लागेका डा.सुधा शर्मा स्वास्थ्य मन्त्रालयको पूर्व सचिव एवं स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुनुहुन्छ । यस्तै गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुनुहुन्छ । खगेन्द्र सुनार दलित अधिकारकर्मी हुनुहुन्छ । बब्लु गुप्ता असहाय विद्यार्थीलाई सामाजिक कार्यक्रम सक्रिय छन् । सहारा नभएकाहरुको सहारा बनेका गुप्ताले विद्यार्थीहरूलाई निःशुल्क पढाउने लगायतका सामाजिक कार्य गर्दै आएका छन् ।
मन्त्री बन्न लागेका खगेन्द्र सुनारको सुर्खेत अदालतमा मुद्दा विचाराधीन छ । उहाँ विरुद्ध सुर्खेत जिल्ला अदालतमा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मी माथि हातपातको मुद्दा छ । सुनार विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सुनारका विरुद्ध काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट विद्युतीय कारोबार मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
सुनार विरुद्ध आफ्नी प्रेमिकालाई चरम घरेलु हिंसा गरेको तथा रकम समेत हिनामिना गरेको आरोप पनि छ ।













प्रतिक्रिया दिनुहोस्