जनता टाइम्स

११ कार्तिक २०८२, मंगलवार १७:०३

सर्वोच्च अदालतद्वारा तोडफोड र आगजनीमा संलग्नहरूविरुद्ध प्रहरीमा जाहेरी दिने 


काठमाडौं, कात्तिक ११। सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड, आगजनी र क्षतिमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा औपचारिक जाहेरी दिने निर्णय गरेको छ। सर्वोच्च अदालतको फुलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो।

अदालत प्रशासनका अनुसार जाहेरी लेख्ने कार्य भइरहेको छ र भोलिसम्ममा जिल्ला प्रहरी परिसर, काठमाडौंमा उक्त जाहेरी दर्ता गरिनेछ।

आइतबार बसेको फुलकोर्ट बैठकले सर्वोच्चसहित देशभरका अदालतमा आगजनी र तोडफोडमा संलग्नहरूविरुद्ध कानूनी कारबाहीको माग गर्दै कानूनी उपचार खोज्नुपर्ने निष्कर्ष निकालेको थियो।

भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी र तोडफोडका घटनामा रामशाहपथस्थित सर्वोच्च अदालत पनि व्यापक रूपमा क्षतिग्रस्त बनेको थियो। करिब तीन दिनसम्म निरन्तर लागेको आगोका कारण अदालतमा विचाराधीन करिब २० हजार मुद्दाका फाइल जलेका छन् भने फैसला भइसकेका एक लाख ९७ हजार फाइल नष्ट भएका छन्।

आगजनीका क्रममा न्यायाधीश र कर्मचारीहरूले प्रयोग गरेका सवारीसाधनहरू समेत जलेर नष्ट भएका थिए। सर्वोच्च अदालतले दिन लागेको जाहेरीमा देशभरका अदालतमा भएका तोडफोड, आगजनी र क्षतिहरूको विवरण समावेश गरिने भएको छ।

काठमाडौंमा सर्वोच्च अदालतसहित विशेष अदालत र जिल्ला अदालत पनि आगजनीका कारण क्षतिग्रस्त भएका छन्। अदालत प्रशासनका अनुसार, देशको न्याय प्रणालीमाथि भएको यो आक्रमणप्रति गम्भीर ध्यानाकर्षण गराउँदै अदालतले दोषीहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सुरुवात गरेको हो।