काठमाडौं, कात्तिक १२। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा आज साँझ ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा त्रिपक्षीय छलफल बस्न लागेको छ। यस छलफलमा जेनजीबाट १४ जना र विभिन्न राजनीतिक दलका १६ जना नेता सहभागी हुनेछन्।
सरकारको तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र सञ्चार मन्त्री जगदीश खरेल सहभागी हुनुहुनेछ। जेनजीको आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा यो पहिलो त्रिपक्षीय छलफल हुन लागेको हो।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो। आन्दोलनको क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको हो।
प्रधानमन्त्री कार्कीले भदौ २७ गते प्रधानमन्त्री पद सम्हाल्नु भएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते चुनाव गर्ने गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नु भएको हो ।
सरकारले यसअघि जेनजी र राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्दै आएको थियो। आज भने पहिलो पटक सरकार, जेनजी र राजनीतिक दलका प्रतिनिधि संयुक्त रूपमा छलफलमा हुँदै छ ।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री कार्कीले बालुवाटारमा सर्वदलीय बैठक राख्नु भएको थियो। त्यसभन्दा पहिले गत असोज २४ गते राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको आयोजना गर्नुभएको थियो।
प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण बनाउने पहल स्वरूप यो त्रिपक्षीय छलफलको आह्वान गर्नुभएको हो।













प्रतिक्रिया दिनुहोस्