जनता टाइम्स

१३ कार्तिक २०८२, बिहीबार १७:२५

बैदेशिक रोजगारीका लागि मलेसियाको नयाँ मापदण्डप्रति प्रधानमन्त्रीको चासो, व्यवसायी मर्कामा पर्ने भन्दै अध्ययन गर्न निर्देशन


काठमाडौं, कात्तिक १३ । प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डले नेपाली व्यवसायी र कामदारमा पर्न सक्ने असरबारे तत्काल अध्ययन गरी आवश्यक पहलकदमी लिन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर यसबारे चासो राख्दै अध्ययन गर्न निर्देशन दिनुभएको हो ।

प्रधानमन्त्री कार्कीले हाल श्रम तथा रोजगार मन्त्रालयको समेत नेतृत्व गरिरहनुभएको छ । भेटमा सचिव पुष्करले मलेसियाको नयाँ मापदण्डबारे मन्त्रालयलाई जानकारी प्राप्त भएको र यसलाई कूटनीतिक माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएपछि प्रधानमन्त्रीले परराष्ट्र र अर्थ मन्त्रालयसँग पनि समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ ।

नेपाली कामदारका लागि मलेसिया प्रमुख श्रम गन्तव्य मुलुक हो । नेपालका करिब १२ सय वैदेशिक रोजगार व्यवसायीमध्ये झन्डै ९ सय व्यवसायी मलेसियामा कामदार पठाउने प्रक्रियामा आश्रित रहेका छन । व्यवसायीहरूका अनुसार मलेसियाले लागू गरेको नयाँ मापदण्डअनुसार नेपालका करिब एक दर्जन ठूला कम्पनी मात्रै कामदार पठाउन योग्य हुनेछन । जसलाई उनीहरूले सिण्डिकेटको नाम दिएका छन ।

यो व्यवस्थाले सयौँ साना तथा मझौला व्यवसायी विस्थापित हुने र वैदेशिक रोजगारीको प्रक्रियामा समेत असर पर्ने उनीहरुको दावी छ । ब्यवसायीको यही गुनासो सुनेर प्रधानमन्त्री कार्कीले चासो लिनुभएको हो । प्रधानमन्त्रीको चासो र निर्देशनपछि श्रम मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी कूटनीतिक पहल अगाडि बढाउने जनाएको छ ।