जनता टाइम्स

१६ कार्तिक २०८२, आईतवार १४:१४

‘यूथ भोलेन्टियर्स फोर्स’ले प्रहरी प्रशासनको मनोबल उठाउँछ : महेश बस्नेत


काठमाडौं, कात्तिक १६  । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य महेश बस्नेतले ‘यूथ भोलेन्टियर्स फोर्स’ले हाल कमजोर बनेको नेपाल प्रहरी र प्रशासनको मनोबल पुनःउकास्ने काम गर्ने बताउनुभएको छ।

भक्तपुरमा आइतबार आयोजित भेलालाई सम्बोधन गर्दै उहाँले ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीमाथि आक्रमण र समाजमा फैलिएर गएको त्रासका कारण सुरक्षा संयन्त्रको आत्मविश्वास कमजोर भएको बताउनुभयो। उहाँले हालैका घटनाहरूले प्रशासनिक संयन्त्रको मनोबल घटाएको र त्यसको पुनर्स्थापनामा स्वयंसेवी फोर्सले सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो- ‘त्यो दौरानमा चौकीहरू आक्रमण भए, प्रहरीका बर्दी खोसिए, १४ हजार कैदी भगाइए, १२ सयभन्दा बढी हतियार अझै फिर्ता भएका छैनन् र लाखौँ गोली लुटिएका छन्, आज हाम्रो प्रहरी निरीह बनेको छ।’

बस्नेतका अनुसार, अहिले कोही असुरक्षित नागरिकले सूचना दिन जाँदा पनि ‘जेनजीलाई भन्नु पर्छ’ भन्ने स्थिति आएको छ, जसले प्रहरीको आत्मबलमा प्रत्यक्ष प्रभाव पारेको छ। उहाँले बाले शाहको गलत हर्कत गर्ने समूहहरूले प्रहरी र प्रशासनको मनोबल घटाउने काम गरेको आरोप लगाउनुभयो। उहाँले थप्नुभयो- ‘प्रहरीको मनोबल गिराउन खोज्ने गतिविधिको प्रतिरोध गर्दै यूथ भोलेन्टियर्स फोर्सले नेपाल प्रहरी र प्रशासनको मनोबल उठाउने कुरामा भूमिका खेल्नेछ।’

बस्नेतले उक्त फोर्सलाई साधारण स्वयंसेवक समूह नभएको स्पष्ट पार्दै राष्ट्रिय हितका संवेदनशील विषयमा समेत सक्रिय हुने बताउनुभयो। उहाँले कालापानी र लिम्पियाधुरा जस्ता सीमा क्षेत्रसम्म पुगेर देश विरोधी गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाउने जिम्मा फोर्सले लिन सक्ने उल्लेख गर्नुभयो। ‘आवश्यक परे ट्याक्टरको पछाडि बाँधेर भए पनि प्रहरीलाई पुर्‍याउनेछ,’ उहाँले भन्नुभयो, ‘यो फोर्स प्राकृतिक विपत्तिका बेला पनि राहत र उद्धारमा सहयोग गर्नेछ।’

यूथ भोलेन्टियर्स फोर्स एमाले निकट युवा संघ नेपालको संरचना अन्तर्गत गठन गरिएको स्वयंसेवक दस्ता हो। बस्नेतले यस फोर्सलाई संगठनको देशभक्त र उत्तरदायी युवा शक्तिका रूपमा परिचालन गरिने बताउनुभएको छ।