जनता टाइम्स

९ मंसिर २०७६, सोमबार २०:१३

बिरामीमाथि यौन दुर्ब्यवहारको आरोपमा डाक्टर नै पक्राउ


ललितपुर, मंसिर ९ । उपचारमा आएकी बिरामी युवतीमाथि यौन हिंसा गरेको अभियोगमा डाक्टर पक्राउ परेका छन । बिरामीलाई जाँच्ने नाममा यौन हिंसा गरेको आरोपमा ललितपुरको भैंसेपाटीस्थत नेपाल मेडिसिटी अस्पतालका डा. रोहितकुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले डाक्टर झालाई अस्पतालबाटै आज पक्राउ गरेको हो । बिरामीलाई चेकजाँचका क्रममा गोप्य अंगमा हात लैजाने गरेको भन्दै बिरामीले नै उजुरी गरेपछि झालाई पक्राउ गरेको ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राईले जानकारी दिनुभयो । प्रहरीले घटनाबारेमा अनुसन्धान भैरहेको जनाएको छ । झा जनरल फिजिसियन हुन ।

बिरामी ती युवतीमाथि बलात्कार प्रयासको आरोप लागेलगत्तै डाक्टर झालाई मेडिसिटी अस्पतालले निलम्बन गरेको छ। अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन गरेको अस्पतालकी मिडिया कोअर्डिनेटर मनिता पोखरेलले जानकारी दिनुभयो ।

‘उहाँका विषयमा हिजो आइतबार अस्पतालमा एक संस्थामार्फत गुनासो आएको थियो,’ पोखरेलले भन्नुभयो, ‘त्यसपछि अस्पतालले उहाँलाई निलम्बन गरेको हो।’ पोखरेलका अनुसार डा झाले दुई महिना अघिबाट मात्र अस्पतालमा जागिर खान सुरु गरेका थिए। डा झालाई उपचारका लागि आएकी एक युवतिमाथि बलात्कारको प्रयासको आरोपमा प्रहरीले आज पक्राउ गरेको हो ।