जनता टाइम्स

१८ कार्तिक २०८२, मंगलवार १४:४७

गाँजाको नसामा केपी ओलीको घर घेर्ने भन्दै भागेका डाक्टर निकोलस भुसाल पक्राउ


काठमाडौं, कात्तिक १८ । हिंसा भड्काउने अभिव्यक्ति दिएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ । भुसाललाई मंगलबार गोरखाबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

भुसाल गोरखा नगरपालिका वडा नम्बर–८ स्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले भुसाललाई गोरखाबाट काठमाडौँ ल्याउँदै छ ।

भुसालले कार्तिक १६ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र काठमाडौँको तत्कालीन प्रजिअ छवि रिजालको घर घेर्ने भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
सामाजिक सञ्जालमा त्यस्तो अभिव्यक्ति दिएपछि तरुण दलका एक जना कार्यकर्ताले भुसालको समूहलाई प्रतिकारको चेतावनी दिएका थिए ।

यसअघि २३ असोजमा माइतीघरमा प्रदर्शन गर्न खोज्दा प्रहरीले भुसाललाई पक्राउ गरेको थियो । स्वास्थ्य जाँच गर्दा गाँजा सेवन गरेको रिपोर्ट आएपछि भुसाललाई सुधार केन्द्रमा लैजाने सर्तमा उहाँका दाजुले जिम्मा लिनुभएको थियो ।

त्यसपछि पनि भुसालको विवादित अभिव्यक्ति रोकिएको छैन । जेनजी प्रदर्शनमा ओली, लेखक र प्रजिअले सर्वसाधारणको ‘हत्या’ गरेको अभिव्यक्ति दिँदै भुसालले उनीहरूको घर घेरेर कारबाही गर्ने अभिव्यक्ति दिएका हुन् ।