जनता टाइम्स

१९ कार्तिक २०८२, बुधबार १७:४९

नेपाली कम्युनिष्ट पार्टीले गर्यो ९ बुँदे प्रस्ताव पारित, प्रचण्ड संयोजक बन्दा माधव बने सहसंयोजक


काठमाडौं, कात्तिक १९ । दश वाम घटकबीचको एकता राष्ट्रिय सम्मेलनले ‘नेपाली कम्युनिष्ट पार्टी’ गठन गर्दै ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न एकता राष्ट्रिय सम्मेलनले नयाँ एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राख्ने र चुनाव चिह्न ‘पाँच कुने तारा’ रहने निर्णय गरेको हो ।

नयाँ बनेको पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनु भएकाे छ। भृकुटीमण्डपमा आयोजित सभामा संयोजक र सहसंयोजकका नामहरू पढेर सुनाइएपछि सर्वसम्मत अनुमोदन गरिएको घोषणा गरिएको थियो ।

प्रचण्ड र माधव नेपालबीच समन्वयमा अघि बढ्ने सहमति बनेको र पार्टीको प्रारम्भिक कार्यदिशा संविधान रक्षा, आर्थिक समानता र राजनीतिक स्थायित्वमा केन्द्रित हुने बताइएको छ ।

सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्ताव यसप्रकार छन्ः

१. पार्टी एकता र नाम – एकता प्रक्रियामा सहभागी सबै पार्टीहरू मिलेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।

२. चुनाव चिह्न – नयाँ बनेको पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ रहनेछ ।

३. सदस्यता – एकतामा सहभागी सबै सदस्यहरू अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’का सदस्य हुनेछन् ।

४. संगठनात्मक संरचना – सबै घटक पार्टीका नेतासँग परामर्श गरी नयाँ केन्द्रीय संरचना र संगठनात्मक समायोजनका काम गर्ने निर्णय गरिएको छ । यसअघि रहेका सबै घटकका केन्द्रीय समितिहरूलाई समायोजन गरी नयाँ केन्द्रीय समिति निर्माण गरिनेछ ।

५. अख्तियारी – केन्द्रीय संरचना निर्माण र संगठनात्मक समायोजनका सम्पूर्ण अख्तियारी संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव पारित गरिएको छ ।

६. जनप्रतिनिधिहरूको मान्यता – प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेशसभा र स्थानीय तहमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र नेकपा (माओवादी समाजवादी)का नाममा निर्वाचित जनप्रतिनिधिहरू अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’का जनप्रतिनिधि हुनेछन् ।

७. सम्पत्ति र दायित्व – एकतामा सामेल सबै पार्टीहरूको चल–अचल सम्पत्ति, बैंक मौज्दात तथा दायित्व अबदेखि ‘नेपाली कम्युनिष्ट पार्टी’को स्वामित्वमा रहनेछ ।

८. घोषणापत्र – नयाँ पार्टीको घोषणापत्र पारित गरिएको छ, जसमा समाजवाद उन्मुख अर्थनीति, राष्ट्रियता र सुशासनका प्राथमिकता समावेश गरिएको बताइएको छ ।

९. विधान – पार्टीको प्रारम्भिक विधान छलफल र सुझावसहित पारित गरिएको छ, जसले संगठनात्मक कार्यविधि र आन्तरिक लोकतान्त्रिक अभ्यासको मार्गनिर्देशन गर्नेछ ।

सम्मेलनमा सहभागी नेताहरूले यो एकता मुलुकमा बाम राजनीति सुदृढ बनाउने, राजनीतिक अस्थिरता अन्त्य गर्ने र राष्ट्रिय पुनर्निर्माणको नयाँ मार्ग खोल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रचण्डले संयोजकका रूपमा सम्बोधन गर्दै ‘एकताले नेपालको राजनीतिक इतिहासमा नयाँ दिशा दिनेछ’ भन्दै जनताको विश्वास जित्ने जिम्मेवारी सबैको साझा हुने बताउनुभयो ।

सहसंयोजक माधव नेपालले पनि एकतालाई दीर्घकालीन र व्यवहारिक बनाउने प्रतिबद्धता जनाउनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय समिति गठन, संगठनात्मक विस्तार र नीति–कार्यक्रम तयारीका लागि संयोजक र सहसंयोजकलाई नै जिम्मेवारी दिइएको छ । सम्मेलनले आगामी हप्ता भित्रै पार्टीको विस्तारित बैठक बोलाउने तयारी गरेको जनाएको छ ।