काठमाडौं, कात्तिक २३ गते । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले भदौ २३ र २४ गतेको घटनाको राज खुल्दै गएको बताउनुभएको छ ।
नेकपा एमाले वाग्मती प्रदेश कमिटीले प्रदेश अन्तर्गतका १ सय १९ पालिका इञ्चार्जसँग आयोजना गरेको जुम बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै भट्टराईले सो घटना बाह्य शक्तिको कारण भएको तथ्य खुल्दै गएको बताउनुभयो । ‘सत्य धेरै समय लुक्दैन, वास्तविकता बाहिर आउँदै छ’, उहाँले भन्नुभयो ।
भट्टराईले सरकारको व्यवहार र सुरक्षा व्यवस्थाको कारण तोकिएको समयमा निर्वाचन हुन नसक्ने उहाँले बताउनुभयो । यस्तो प्रतिकूल र चुनावको वातावरण भइनसकेको अवस्थामा चुनाव हुन्छ भनेर कुरेर बस्नुको अर्थ अहिलेको सरकारको म्याद थप्ने र थप अस्थिरता बढाउने कुरा मात्र हुने उहाँको धारणा छ । त्यसैले संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरेर संविधानसम्मत रूपमा सरकार गठन गरेर अघि बढ्नु पर्ने उहाँको राय छ । ‘निर्वाचन २०८४ मै हुनुपर्छ भन्ने होइन, तर संविधानलाई ठिक बाटोमा ल्याउन संसद् पुनर्स्थापना गर्नुपर्छ भन्ने हाम्रो धारणा हो’, भट्टराईले भन्नुभयो ।
कार्यक्रममा बोल्दै वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले अहिलेको सरकार वैधानिक सरकार नभएको बताउनुभएको छ । त्यसैले यो सरकारलाई हटाउन नेकपा एमालेले सडक सङ्घर्ष सुरु गरेको उहाँले जानकारी दिनुभयो । यो सरकारलाई हटाएर संसद् पुनर्स्थापना गरी संसद् र संविधान भित्रैबाट सरकार बन्नु पर्नेमा ढुङ्गेलले जोड दिनुभयो ।
ढुङ्गेलले एमालेले गाउँदेखि सहरसम्म योजनाबद्ध विरोध र जनपरिचालनका कार्यक्रम घोषणा गरेको जानकारी दिनुभयो । सो अभियानमा सक्रिय सहभागिता जनाउन उहाँले पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो ।
ढुङ्गेलले अहिले राज्यको मुख्य प्रशासनिक भवन, संसद् भवन तथा न्यायपालिकाका साथै राजनीतिक दल र व्यक्तिका घर समेत ध्वस्त बनाइएको बताउनुभयो । यो कालो इतिहास लेख्ने कामको एमालेले भर्त्सना गर्ने ढुङ्गेलले बताउनुभयो ।
अहिलेको सरकार दुईचार जनाले अँध्यारो कोठामा बसेर बनाएको सरकार भएको उहाँले बताउनुभयो । लाखौँ भोट लाएको प्रधानमन्त्रीलाई हटाएर अँध्यारो कोठा भित्रबाट बनाइएको सरकार हटाउन एमालेले जनपरिचालनको कार्यक्रम ल्याएको ढुङ्गेलले स्पष्ट पार्नुभयो ।
बैठकमा पालिका कमिटीका इञ्चार्जहरूले स्थानीय बस्तुस्थिति बारे जानकारी गराउनुभएको थियो । उहाँहरूले केही समय समस्या भए पनि अहिले पार्टी प्रतिको आकर्षण र उत्साह पुनः बढ्दै गएको सुनाउनुभयो ।
पार्टी केन्द्रको निर्देशन अनुसार वडास्तरका विभिन्न कार्यक्रम भएको बताउँदै पालिका र जिल्लास्तरको जनपरिचालनको तयारीमा लागेको बताउनुभयो । जिल्लास्तरको जनसभालाई प्रभाकारी बनाउने योजनाका साथ लागेको उहाँहरूले जानकारी दिनुभएको पार्टी प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामाले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्