जनता टाइम्स

२४ कार्तिक २०८२, सोमबार २२:०३

वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सबै नीतिमा स्वास्थ्य नीति ल्याएको छ :  स्वास्थ्य मन्त्री किरण थापा 


भक्तपुर, कात्तिक २४ । वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले स्वास्थ्यको विषय केवल स्वास्थ्य मन्त्रालयको विषय मात्र नभएको बताउनुभएको छ ।

भक्तपुर क्यान्सर अस्पतालको ३१ औँ वार्षिक सभालाई सोमबार सम्बोधन गर्दै मन्त्री थापाले स्वास्थ्यकाे विषय सबै व्यक्ति र मन्त्रालयको सरोकारको विषय बन्नु पर्ने बताउनुभयो । ‘अब स्वास्थ्य मन्त्रालयले मात्र चाहेर स्वास्थ्य सुधार गर्न सकिँदैन, त्यसैले वाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले सबै नीतिमा स्वास्थ्य नीति पास गरेको छ’, उहाँले भन्नुभयो ।

थापाले आज खानपान र वातावरणको कारण क्यान्सर रोगको समस्या बढ्दै गएको बताउनुभयो । ‘हामीले खाने तरकारी तथा फलफूलमा अत्याधिक मात्रामा विषादीको प्रयोग भइरहेको छ, हामीले पिउने पानीका कारण क्यान्सर र मिर्गौलाका रोगी बढेका छन्, स्वास्थ्य क्षेत्र भनेको सबै मन्त्रालयको जिम्मेवारीको क्षेत्र हो भनेर कृषि मन्त्रालयले विषादी रहित तरकारी उत्पादनको नीति हामीले पास गरेका छौँ, सुद्ध खानेपानीको नीति हामीले पास गरेका छौँ, सडक दुर्घटना कम गराउन सो अनुसारका सुरक्षित सडक निर्माण गर्ने गरी हामीले स्वास्थ्य नीति पास गरेका छौँ’, उहाँले भन्नुभयो ।

थापाले वाग्मती प्रदेशका सहरहरूलाई क्रमशः स्वास्थ्य सहर बनाउने नीति सरकारले ल्याएको बताउनुभयो । त्यसको लागि स्वास्थ्य सहरको अवधारणा ल्याएको थापाले जानकारी दिनुभयो ।

यसै गरी क्यान्सर पीडित नागरिकको उपचारको लागि वाग्मती प्रदेशले ५० हजार रुपैँया दिँदै आएकोमा त्यसलाई यस वर्षबाट डब्बल बनाइएको थापाले बताउनुभयो । ‘अब क्यान्सर पीडित विशेष गरी पाठेघरको क्यान्सर पीडित महिलाको उपचारका लागि हामीले एक लाख रुपैँया सहयोग गर्ने निर्णय गरेका छौँ’, उहाँले भन्नुभयाे ।

आज ७१ प्रतिशत नागरिकको मृत्यु नसर्ने रोगको कारण हुने गरेको बताउँदै उहाँले यसलाई रोक्न सबै मन्त्रालयको समान जिम्मेवारी भएको बताउनुभयो । सबै क्षेत्रको सहकार्यले मात्र स्वास्थ्य क्षेत्र सुधार गर्न सकिने उहाँको धारणा छ ।

सबै नागरिकको स्वास्थ्यमा पहुँच हुनु पर्ने बताउँदै उहाँले अहिले पनि नागरिकले सममा औषधि पाउन नसकेका प्रति चिन्ता व्यक्त गर्नुभयो । औषधि थुप्रिएर बस्ने तर नागरिकले औषधि नपाउने अवस्था अहिले पनि रहेको उहाँले सुनाउनु भयो । यसलाई व्यवस्थित गर्न प्रदेश स्वास्थ्य मन्त्रालय लागि रहेको थापाले जानकारी दिनुभयो ।