जनता टाइम्स

२ मंसिर २०८२, मंगलवार ०९:२७

राष्ट्रिय विध्वंसलाई अवसर ठान्नेहरू सत्तामा पुगेका छन् : शंकर पोखरेल 


काठमाडौं, मंसिर २ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटना राष्ट्रिय विध्वंस भएको बताउनुभएको छ ।

मजदुर नेता कमल गौतमको स्मृतिमा सोमबार बुटवलमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै महासचिव पोखरेलले अहिलेको सरकार विध्वंसको माध्यमबाट बनेको बताउनुभयो । ‘राष्ट्रिय विध्वंसलाई अवसर ठान्ने प्रवृत्ति आज सत्तामा छ र उसले आफूलाई पपुलिष्ट बनाउनको लागि श्रमिकहरूको रोजीरोटी खोस्ने काम गरेको छ’, पोखरेलले भन्नुभयो ।

भदौ २३ र २४ को घटना राष्ट्रको लागि अत्यन्त पिडादायी घटना भएको बताउँदै उहाँले कतिपयले यसलाई क्रान्तिको रूपमा परिभाषित गर्ने दुस्साहस गरेका बताउनुभयो । राष्ट्रियतालाई धराशायी बनाउने काम किमार्थ क्रान्ति हुन नसक्ने पोखरेलको धारणा छ ।

नयाँ पुस्तालाई लाञ्छित गरेर जेनजीको नाममा अवसरवादी, अराजकवादी र विदेशीसँग साँठगाँठ गर्नेहरूले भदौ २३ र २४ को घटना गराएका पोखरेलले दाबी गर्नुभयो । जेनजी आन्दोलन हाइज्याक गरेर अहिले तिनै तत्त्वहरूले सत्तामा हालीमुहाली गरिरहेका उहाँको धारणा छ ।

२३ र २४ को घटनाको कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको पोखरेलले बताउनुभयो । जसको परिणाम भर्खरै उठ्न लागेको देशको अर्थतन्त्र फेरि पाताल भासिएको उहाँले सुनाउनुभयो ।

जेनजी आन्दोलनको माग सरकार समक्ष आउँदै नआएको उहाँले बताउनुभयो । नेपालको सत्ता राजनीतिमा कुण्ठा भएकाहरूले नवयुवाको भावनामा खेल्ने प्रयत्न गर्दा राष्ट्रले कहालीलाग्दो क्षति बेहोरेको पोखरेलका धारणा छ ।

भदौ २३ र २४ को घटनाले राष्ट्रको अस्मिता, समृद्धि, सामर्थ्य माथि आक्रमण गरेको उहाँले बताउनुभयो । त्यस्तै नेपालको शान्ति सुरक्षाको आधारस्थम्भको रूपमा रहेको नेपाल प्रहरीको देशव्यापी संरचना तहसनहस बनाउने काम सो घटना मार्फत भएको पोखरेलको भनाइ छ । प्रहरीलाई भौतिक रूपमा समाप्त गर्ने तथा नाङ्गै बनाएर लखेटेर अपमानित गर्ने काम गरिएको उहाँले बताउनुभयो ।

बानेश्वरको घटना र अदालतहरूमा आगो लगाउने तथा जेलबाट अपराधी निकाल्ने घटनासँग कतै तालमेल नै नमिल्ने उहाँले बताउनुभयो । त्यसैले भदौ २३ र २४ को घटना सुनियोजित थियो भन्ने कुरा पुष्टि भएको पोखरेलको भनाइ छ । २३ र २४ गतेको घटना नेपाल राष्ट्रलाई कमजोर बनाउने, लोकतन्त्र विरोधी षडयन्त्र हो’, उहाँले भन्नुभयो ।

नेकपा एमाले जति बेला सङ्कट पर्दछ त्यति बेला सशक्त भएर उठ्ने पार्टी भएको बताउँदै उहाँले एमालेले हरेक सङ्कटको सामना गर्ने सामर्थ्य राख्ने दाबी गर्नुभयो । त्यसैले एमाले फेरी जुरुक्क उठ्ने प्रयत्नमा रहेको पोखरेलले बताउनुभयो । सत्यको पक्षमा उभिँदा कहिलेकाहीँ एक्लै परिने भए पनि एमाले त्यसको सामना गर्न तयार हरेको उहाँको भनाइ छ । ‘चुनौतीबाट भाग्ने होइन, सामान गरेर अगाडि बढ्नु पर्दछ, हामी हाम्रा उद्देश्यमा सफल हुने छौँ’, पोखरेलले भन्नुभयो ।

राजनीतिक अस्थिरता अहिलेको मुलुकको प्रमुख चुनौती भएको बताउँदै उहाँले त्यसैको जगमा अस्थिरतावादी शक्तिले खेलिरहेका उहाँले स्पष्ट पार्नुभयो । त्यसलाई चिर्न देशमा राजनीतिक स्थिरता दिनु पर्ने र त्यो काम एमालेबाट मात्रै सम्भव भएको उहाँले बताउनुभयो । अहिले अवस्था अप्ठेरो भए पनि एमाले पिठ्युँ फर्काएर नभाग्ने पोखरेले स्पष्ट पार्नुभयो ।