काठमाडौं, मंसिर ३। आज मधेस प्रदेश सभा बैठक बोलाइएको छ । उपसभामुख बबिता राउतले आज दिउँसो १ बजेको लागि बैठक बोलाउनुभएको हो ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाका ५ जना सदस्यहरूलाई पदमुक्त गरेको सूचना जारी गरेपछि सात राजनीतिक दलले सभामुख रामचन्द्र मण्डललाई अविश्वासको प्रस्ताव दर्तासँग प्रदेश सभा बैठक आह्वान गर्न उपसभामुख बबिता राउत ईशरलाई पत्र दिएका थिए । सोही पत्रका आधारमा उहाँले आज बैठक बोलाउनुभएको हो ।
बैठकमा सभामुखले पदअनूकल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेसहितको ब्यहोराकाे सूचना प्रदेश सभा सदस्यहरूलाई पठाइएको छ । मधेस प्रदेश सभाको बैठक बोलाउन माग गर्दै ३२ जना सांसदले उपसभामुख बबिता राउत ईशरलाई मंगलबार पत्र बुझाएका थिए ।
सभामुख रामचन्द्र मण्डलले प्रदेश सभाको बैठक आह्वान गर्ने जिम्मेवारी सचिवको रहेको बताउँदै बैठक आह्वान विधि र प्रक्रिया मिचेर उपसभामुखले आह्वान गरेको बताउनु भएको छ ।
मुख्यमन्त्री नियुक्ति र सांसदहरू माथिको कारबाहीको विषयलाई लिएर नेकपा एमालेलाई एक्लो पारेर अहिले अन्य दलहरू सडकमा छन् । एमाले पनि सडकमा उत्रिएपछि अहिले मधेस राजनीतिक किचलोमा फसेको छ । यस्तो अवस्थामा आजको बैठक कसरी अघि बढ्ने हो ठेगान छैन ।













प्रतिक्रिया दिनुहोस्