काठमाडौं, मंसिर ३ । सिमरा विमानस्थलमा उत्पन्न परिस्थितिका कारण एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई काठमाडौंबाट उडान नै रोकिएको घटनाप्रति नेकपा एमालेका सचिव योगेश भट्टराईले गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ।
उहाँले त्यस घटनाले मुलुकको शान्ति–सुरक्षामाथि प्रतिकूल प्रभाव परेको बताउनुभएको छ। सचिव भट्टराईले महासचिव पोखरेल सहभागी हुने गरी पूर्वघोषित युवा संगठनको कार्यक्रमलाई अवरोध पुर्याउने उद्देश्यले सिमरा विमानस्थलमा ‘जेनजी’ नाममा गरिएको प्रदर्शनले देशभर चिन्ता पैदा भएको उल्लेख गर्नुभएको छ। उहाँले यस्तो हरकत संविधानले सुनिश्चित गरेका स्वतन्त्र आवत–जावत तथा शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्ने अधिकारमाथि नै चुनौती भएको टिप्पणी गर्नुभएको छ।
‘देशको एक स्थानबाट अर्को स्थानमा निर्बाध हिँडडुल गर्न पाउने तथा शान्तिपूर्ण राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको सबैले सम्मान गर्न आवश्यक छ,’ सचिव भट्टराईले आग्रह गर्दै भन्नुभएको छ, ‘यस्ता गतिविधिले आसन्न निर्वाचनलाई अन्यौलता र अनिश्चिततामा धकेल्न सक्छन्।’
उहाँले शान्ति–सुव्यवस्था कायम राख्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आगामी राजनीतिक गतिविधि स्वतन्त्र र मर्यादित वातावरणमा सञ्चालन हुने अनुकूलता सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।












प्रतिक्रिया दिनुहोस्