जनता टाइम्स

३ मंसिर २०८२, बुधबार २०:४३

बारामा हामीलाई रोक्ने जेनजी हाइनन-माओवादी र राजावादी हुन : महेश बस्नेत


काठमाडौं, मंसिर ३ । नेकपा एमालेका नेता महेश बस्नेतले बाराको सिमरा विमानस्थलमा भएको अवरोध र तोडफोडलाई ‘जेन–जीको नाममा माओवादी र राजावादी शक्तिहरूले मिलेर गरेको समन्वित आक्रमण’ भएको दाबी गर्नुभएको छ।

एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको युवा भेलामा सहभागी हुन जान लाग्दा आफूलाई रोक्न विभिन्न विपक्षी समूह सक्रिय बनेको आरोप लगाउँदै बस्नेतले सिमरा विमानस्थलमा २५–३० जनाको समूहले नियोजित रूपमा बन्द गराउने गरी तोडफोडमा उत्रिएको बताउनुभयो।

उहाँका अनुसार, ‘एमाले कमजोर भयो’ भन्ने बुझाइ फैलाउन खोज्नेहरूले जेन–जीको नाम दुरुपयोग गरेर विमानस्थलमै अशान्ति सिर्जना गरेको घटना लोकतान्त्रिक पद्धतिकै धज्जी उडाउने कार्य हो। बुधबार अपरान्ह पत्रकारहरूसँग कुरा गर्दै बस्नेतले लोकतान्त्रिक मूल्य-मान्यता नमान्नेहरूले बारामा एमालेको शान्तिपूर्ण कार्यक्रमसमेत निषेध गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, ‘जेन-जीको नाममा को–को थिए भन्ने पहिचान अहिले पूर्ण रूपमा खुलेको छैन। तर मधेसमा एमालेका मुख्यमन्त्री बनेपछि धेरैलाई मन परेन जस्तो देखिन्छ। राष्ट्रिय झण्डासम्म फालिएको छ, तोडफोड गरिएको छ। पत्रकार साथीहरूले यसमा गहिरो खोजबिन गर्नु आवश्यक छ।’

सिमरामा पाँच दलीय गठबन्धनले माओवादी उम्मेदवारलाई विजयी गराएको तर आगामी चुनावमा त्यस्तो सफलता दोहोरिन नसक्ने टिप्पणी गर्दै उहाँले राप्रपाको पनि त्यहाँ उल्लेखनीय प्रभाव रहेको बताउनुभयो। उहाँका अनुसार, राजावादी समूह ‘राजतन्त्र फर्काउनु पर्ने’ अभियानमै सक्रिय छन् र सिमराको अवरोधमा यिनै शक्ति मिलेर सहभागी भएको देखिएको छ।

उहाँले थन्नुभयो, ‘२५/३० जना जम्मा भएर विमानस्थलको गेट भत्काएका रहेछन्। हाम्रा फोटोमा लात्तीसमेत हानिएको रहेछ। त्यहाँका स्थानीय युवाले पनि लोकतान्त्रिक पद्धतिमा यस्तो नहोस् भनी आग्रह गरेको कुरा मैले सुनेँ। कार्यक्रम गर्न नदिनु लोकतन्त्रविरुद्धको हर्कत हो। आपत्ति छ भने अर्को कार्यक्रम गरून्, नसके घरमै बसेर लाईभ हानून्, तर हिंसा किन ?’

वर्तमान सरकारले चुनाव नगराउने अडानलाई नै सिमरा घटनाले पुष्टि गरेको पनि बस्नेतको तर्क छ। राजनीतिक रूपमा अशान्त वातावरण सिर्जना गर्ने, विपक्षी दलका कार्यक्रम रोक्ने र जनआवाजलाई दमन गर्ने गतिविधि बढ्दै गएको बताउँदै उहाँले ‘यस्ता गतिविधिले सरकारले लोकतान्त्रिक प्रक्रियाबाट टाढिँदै गएको’ टिप्पणी गर्नुभयो। उहाँले भन्नुभयो, ‘एमालेलाई रोक्ने प्रयास भइरहे पनि अब हामीलाई रोक्न सकिँदैन। लोकतान्त्रिक पद्धति कमजोर बनाउन खोजिनु देशकै भविष्यसँग खेलबाड हो।’