जनता टाइम्स

११ मंसिर २०७६, बुधबार १९:१०

दोलखाका अधुरा विकासे आयोजना पुरा गर्ने मन्त्री गुरुङको प्रतिबद्धता


दोलखा, मंसिर ११

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दोलखाका अधुरा विकास आयोजनालाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला दोलखा पुग्नु भएका मन्त्री गुरुङले सडकसहितका विकास आयोजना पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

सदरमुकाम चरिकोटमा नेकपा जिल्ला कमिटीले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाले मुलुकको समृद्धिमा दोलखाको समृद्धि समेत जोड्ने बताउनु भयो । उहाले आफुले सम्हालेको मन्त्रालयलाई पनि चुस्तदुरुस्त बनाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका समस्या सम्बोधन गर्न लाग्ने स्पष्ट पार्नुभयो ।

चरिकोटमै उहाले आज जिल्ला कार्यालयका प्रमुखहरुलाई निर्देशन दिदै स्वाभिमानका साथ इमान्दार भएर जनताका पक्षमा काम गर्न निर्देशन दिनुभयो । जिल्लाको विकासका लागि योजनावद्ध तरिकाले कार्ययोजना नै बनाएर अगाडी बढ्न समेत उहाले सबैसँग आग्रह गर्नुभयो । चरिकोटमा मन्त्री गुरुङलाई जिल्ला समन्वय समिति दोलखा, भिमेश्वर नगरपालिका, स्थानीयसंघ सस्था लगायतले सम्मान गरेका थिए । मन्त्री गुरुङ चार दिनका लागि बुधबार गृहजिल्ला पुग्नु भएको हो ।