भक्तपुर, मंसिर १३
उपनिर्वाचनका लागि भक्तपुर जिल्लाका निर्वाचन क्षेत्रमा शनिवार सवारीसाधन प्रवेश तथा कुदाउन रोक लगाइएको छ । शुक्रबार राति १२ बजेदेखि शनिबार बेलुकी ९ बजेसम्म भक्तपुर जाने सवारीसाधनलाई विभिन्न नाकाबाट प्रवेश गर्न रोक लगाइएको हो ।
भक्तपुरको अरनिको राजमार्ग साँगादेखि राधेराधेसम्मको सडकबाट उत्तरतर्फ जाने बाटो र राधेराधे चोकबाट निकोशेरा चोकसम्मका सडकबाट पूर्वतर्फ जाने सम्पूर्ण सवारी साधनहरूमा प्रवेश रोक लगाइएको छ । साथै, पेप्सीकोला मनोहरादेखि निकोशेरा सडकबाट उत्तरतर्फ जाने बाटोमा पनि सवारीसाधन प्रवेश गर्न रोक लगाइएको छ ।
काठमाडौंबाट भक्तपुर जाने पेप्सीकोला मनोहरा र जडिबुटी मनोहरा नाका बाहेकका अन्य नाकाबाट प्रवेश निषेध गरिएको छ । त्यस्तै, काभ्रेबाट भक्तपुर जाने साँगा नाका बाहेक अन्य सबै नाकाहरूमा सवारीसाधनमा रोक लगाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको हो । भक्तपुर प्रतिनिधिसभा क्षेत्र निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा क्षेत्र (क) मा उपनिर्वाचन हुँदैछ ।
त्यस समयमा अत्यन्तै जरूरी सवारीसाधन एम्बुलेन्स, शव वाहन, दमकल र निर्वाचन आयोगका अधिकृतबाट अनुमति प्राप्त सवारीसाधन मात्रै प्रयोग गर्न पाइनेछ।
प्रतिक्रिया दिनुहोस्