रामेछाप, मसिर २१ । मन्थली नगरपालिका–७ भटौलीका शिक्षक दिलबहादुर अछामीले सुक्खाग्रस्त बारीलाई हरियालीमा रूपान्तरण गर्दै गाउँमा नमुना कृषि अभ्यासको उदाहरण प्रस्तुत गर्नुभएको छ। स्थानापति माध्यमिक विद्यालय, मन्थली–९ मा अध्यापन गर्नुहुने अछामीले विद्यालय समय बाहेकको समय कृषिमा लगानी गर्नुभएपछि उहाँको ड्रायगनफ्रुट बगैँचा स्थानीयको आकर्षणको केन्द्र बनेको हो।
सधैँ पानीको अभाव, चर्को घाम र सुक्खाका कारण भटौलीमा व्यावसायिक फलफूल खेती असम्भवजस्तै मानिँदै आएको थियो। तर अछामीले १ सय पोलमा ४ सय ड्रायगनका बोट रोपेर सम्भावनाको नयाँ प्रयोग गर्नुभएको छ। त्यससँगै आँप, कागती, अनार, कुरिलो, भूइँकटहर, केरा लगायतका बोट विस्तार गर्दै उहाँले उजाड बारीलाई क्रमशः हरियाली फार्ममा बदल्नुभएको हो।
दोस्रो वर्षदेखि उत्पादन बढ्दै गएपछि ड्रायगनफ्रुटबाट मात्र करिब ९ सय किलो उत्पादन भएको र प्रतिकिलो ३ सय रुपैयाँका दरले २ लाख ७० हजार रुपैयाँभन्दा बढी आम्दानी हुन पुगेको उहाँले बताउनुभएको छ। अन्य फलफूलबाट प्राप्त आयसमेत विगतको तुलनामा बढेको छ। उहाँले भन्नुभयो, ‘यदि निरन्तरता र लगन भए सुक्खा क्षेत्रमा पनि खेती सम्भव हुन्छ भन्ने कुरा मेरो बगैँचाले प्रमाणित गरिरहेको छ।’
हाल अछामीको फार्ममा २५ भन्दा बढी जातका आँप, फलफूल, तरकारी तथा मौरीपालन फष्टाउँदाे छ । कृषि सफलतामा अछामीकी जीवनसाथी सरिता कुमारी रम्तेलको भूमिका पनि महत्वपूर्ण छ। उहाँले श्रीमान्ले सिकाएको सीपलाई व्यवहारमा उतार्ने दैनिक कार्यमा सक्रिय सहयोग गर्दै कृषि उत्पादन विस्तारमा योगदान दिँदै आउनुभएको छ। सरिताले भन्नुभयो, ‘सही योजना, निरन्तर मिहिनेत र आवश्यक ज्ञान भए गाउँमै बसेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा हाम्रो अनुभूति हो।’
अछामी दम्पतीको सफल कृषिले भटौलीका युवादेखि किसानसम्मको ध्यान तानेको छ। सुक्खा क्षेत्रमा ड्रायगन खेती कसरी सम्भव हुन्छ, कति लगानी पर्छ, पानीको कमी कसरी व्यवस्थापन गर्ने भन्ने बुझ्न स्थानीय तथा बाहिरी क्षेत्रका व्यक्तिहरू समेत बगैँचा अवलोकन गर्न आउने क्रम बढ्दै गएको छ।
शिक्षक भएर पनि कृषि क्षेत्रमा समय दिनुभएको अछामीले गाउँमै बसेर सम्भावना पहिचान गर्न सकिने उदाहरण दिनुभएकाे छ । सही जानकारी, सीप र निरन्तरताले नै गाउँमा रोजगारी र अवसर सिर्जना गर्न मद्दत गर्ने उहाँकाे धारणा छ ।













प्रतिक्रिया दिनुहोस्