जनता टाइम्स

१५ पुष २०८२, मंगलवार ०८:१९

कांग्रेसले मंगलबार बिहानसम्म पनि बुझाउन सकेन समानुपातिकको बन्दसूची


काठमाडौँ,  पुस १५ ।  नेपाली कांग्रेसले समानुपातिक उम्मेदवारहरुको बन्दसूची आज बिहानसम्म पनि बुझाउन सकेको छैन ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले नामावली बुझाउन नसकेको स्वीकार गर्नूभएको छ। मंगलबार बिहान संचारकर्मीसंग कुरा गर्दै पौडेलले भन्नुभयो, ‘हामी अहिले निर्वाचन आयोगभन्दा बाहिर छौं र काम गर्दैछौं ।’

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन पुस १३ र १४ गते (आइतबार र सोमबार)को समय दिएको थियो । सोही अनुसार रातभरसम्म नामावली बुझ्ने–बुझाउने काम जारी थियो । सुरुमा नेपाली कांग्रेस नेता मीन विश्वकर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेल नामावली बोकेर पहिल्यै निर्वाचन आयोगको कार्यालय पुग्नुभएको थियो।

मंगलबार बिहानपख करिब चार बजेतिर महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री जीवन परियार पनि आयोग पुग्नुभएको छ । तर मुख्य सचिव र परियारले बोकेको नामावलीको फाइलमा पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर नभएको पाइएपछि आयोगका कर्मचारीहरुले नामावली बुझ्न मानेनन् ।

त्यसपछि महामन्त्री शर्माले सभापतिको हस्ताक्षर गराउन मुख्य सचिव पौडेल र विश्वकर्मालाई देउवा निवास महाराजगञ्ज पठाउनुभयाे। महाराजगञ्ज पुग्नु भएका उहाँहरु यो समाचार तयार पार्दासम्म आयोगको कार्यालय फर्किनु भएकाे छैन। आयोगका एक कर्मचारीले कांग्रेसले पहिल्यै निवेदन दिइसकेको र सनाखत गराइसकेकाले आज पनि नामावली बुझाउन सक्ने बताउनुभयो ।